म्याग्दीमा चाडपर्वको बेला अपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै विशेष सुरक्षा योजना लागू गरिएको छ । जिल्ला प्रहरी कार्यालयले दसैँ सुरु भएसँगै जिल्लाको समग्र शान्ति, सुरक्षाको भरपर्दो व्यवस्थापनको साथै कुनै अप्रिय घटना एवम् दुर्घटनारहित मर्यादित चाडपर्वको लक्ष्य राखि सुरक्षा योजना कार्यान्वयन गरिएको सूचना अधिकारी सागर पौडलले बताए ।
‘यसपटक थप नयाँ योजनाहरू समेत छन्, सहरदेखि ग्रामिण क्षेत्रसम्म कार्यान्वयन हुने गरी सुरक्षा योजना लागु भएको छ’ प्रहरी निरीक्षक पौडेलले भने । उनका अनुसार जिल्ला कारागारबाट भागेका कैदीबन्दीको खोजी, भिडभाड, मेलापर्व, सवारीसाधन चेकजाँच सहित मदिरा नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर सुरक्षा सतर्कता बढाएको छ ।
प्रहरीले दैनिक आकस्मिक चेकजाँचका लागि १८ यूनिट, २४ घण्टा यात्रु सहायता कक्ष, ट्र«ाफिक चेकजाँच, मोटरसाइकल सहित क्वीक रेस्पोन्स टिम,सिमा क्षेत्रमा नियमित चेकिङ,सादा पोशाकमा प्रहरी परिचालन, सहर तथा ग्रामिण क्षेत्रमा पैदल गस्ती सहित सुरक्षा जोखिम भएका क्षेत्रमा विशेष निगरानी राखिने प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले बताए ।
चाडपर्वको समयमा खास गरी नागरिकहरु एक ठाउँबाट अर्को ठाउँमा जाने भएकोले चोरी डकैतीका घटनाहरु हुनसक्ने भन्दै विशेष सर्तकता अपनाउन सचेत समेत गराइएको छ प्रनाउ थापाले बताए ।
‘कुनै पनि घटनाको जानकारी प्राप्त भएमा तत्कालै टोली परिचालन हुने गरी क्विक रेस्पोन्स टिम (क्यूआरटी) बनाएका छौँ’ प्रनाउ थापाले भने । चाडपर्वमा हुने आवागमनलाई सहज बनाउन बसपार्क, सीमा नाकालगायतका ठाउँमा नागरिक सहायता कक्षा स्थापना गरिएको छ । यसपटक देशभरबाट कैदीबन्दी फरार भएका कारण म्याग्दीमा सुरक्षा चुनौती अन्य समयको चाडपर्वभन्दा बढी रहेकाले प्रहरीले अन्तर जिल्ला समन्वयलाई समेत प्राथमिकता दिएको छ ।
यसैबीच महिलाहरुले सवारीसाधन तथा एकल यात्रा गर्दा गरगहना प्रयोग नगर्न प्रहरीले आग्रह गरेको छ । यसैबीच जुवातास नियन्त्रणको लागि प्रहरीको विशेष टोली परिचालन गरेको छ । चाडपर्वमा सदरमुकाम बेनीबजारमा हुने जुवातासलाई प्रहरीले विभिन्न माध्यमबाट निगरानी गरेको जनाएको छ ।