---Advertisement---

सफा र सुकिला नोटलाई रङहरुबाट कसरी जोगाउने ?

On: September 27, 2025 8:55 AM
Follow Us:

दशैमा टीका लगाउने क्रममा सुकिला नोट दिने प्रचलन पुरानो हो । नोट मैलो र फोहोर हुने नै मूख्य सिजन नै दशैं हो । दशैंको मुखमा म्याग्दीका बैंक तथा वित्तिय संस्थामा सुकिला नोट लिनेको भिड नै लागेको छ । यस वर्ष पनि गत वर्षमा जस्तै नयाँ नभई सुकिला नोटको सटही सुविधा भएपनि सर्वसाधारणले प्रयाप्त पाएका छैनन् । वित्तिय संस्थाले सुकिला नोटहरुलाई नै ग्राहकलाई दिएका छन् । यसबर्ष नयाँ नोट नछापिएको अवस्थामा प्रयोग भएका सुकिला नोटहरु नै चाडपर्वमा प्रयोग हुदाँ झनै आयू घट्ने सम्भावना अधिक हुन्छ । दशैंमा प्रयोग भएका नोट वित्तिय संस्थासम्म आइपुग्दा रातो टिकाले रंगिएको समेत भेटिन्छ ।


जनचेतनाको अभावका कारण पनि धेरै नोटहरू चाडपर्वमै काम नलाग्ने गरी बिग्रिने गरेको पाइन्छ ।सर्वसाधारणको हेल्चेक्राइले नोटको आयु घट्ने गरेको छ भने जनचेतनामुलक अभियान प्रभावकारी भएको पाइदैन् । गरिमा विकास बैंकको रिजनल चियरपर्सन कमलप्रसाद ढुंगानाले टिका लगाउँदा र पुजाआजा गर्दा रंग लाग्ने, पानी तथा दुधले नोट बिग्रने तथा च्यातिने गरेको बताए । ’चाडपर्वमै नोटको आयु घट्छ, दशैंतिहारपछि वित्तिय संस्थामा फर्किने धेरै नोटमा रंग भेटिन्छ’ ढुंगानाले भने ।

उनले नोटलाई कच्याककुच्चुक तथा पोको नपार्ने, जमिनमा नफाल्ने,पूजा गर्दा मैलो हातले नछुने, अबिर, अक्षता, माटो, तथा पानीबाट बचाउने लगायतका उपाय अनिवार्य अपनाउन पर्ने बताए । ‘नोट हाम्रो सम्पत्ति हो, नोट सभ्यताको प्रतिक हो, नोटलाई जतनसाथ प्रयोग गरौँ’ भनेर सूचना सहित सफा नोट वितरण गरिएको छ ।


नोट फोहोर, थोत्रो र मैलो हुने कारण मात्रै राज्यलाई अतिरिक्त ब्ययभार थपिनुका साथै नेपाली अर्थतन्त्रमा नै असर गर्ने उनले बताए । नोटको सुरक्षाका लागि डिजिटल प्रविधिको प्रयोगलाई प्रोत्साहन गरिएपनि दक्षिणा दिन,पूजाआजामा समेत प्रयोग गरिन्छ,जसले गर्दा नोटको आयु घटेको पाइने गरेको बैर्कस क्लव बेनीका अध्यक्ष शोकेन्द्र थापा मगरले बताए ।

‘टीका लगाउने क्रममा पैसा देखाएर हातबाट हातमै दिने चलन ब्याप्त छ,‘नोटलाई खाममा राखेर दिँदा नोट सुरक्षित हुन्छ’ अध्यक्ष थापामगरले भने । कारोबारको भुक्तानीमा सकेसम्म विद्युतीय माध्यम, कार्ड वा ई–वालेटको प्रयोगमा समेत वित्तिय संस्थाले जोड दिएका छन्। दशैंमा वित्तिय संस्थाबाट ५, १०, २०, ५०,५ सय दरका नयाँ सटही सुविधा दिँदै आएको छ । यसैबीच म्याग्दी जेसीजले सुकिला नोट जोगाउने अभियान सञ्चालन गरेको छ ।
फाइल तस्वीर

Leave a Comment