संसारमा सबैभन्दा गहिरो गल्छी कुन हो र नेपालको कुन जिल्लामा पर्छ ? लोकसेवा आयोग र हाँजिर जवाफमा पटक–पटक सोधिने प्रश्न मध्ये एक हो। नेपालमा आधारभुत तहदेखी उच्च शिक्षासम्म अध्ययरत विद्यार्थीदेखी विश्वभर धेरैले यसको सजिलै एउटै जवाफ दिन्छन्–म्याग्दीको अन्धगल्छी। जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा अवस्थित अन्धगल्छीको संसारभर चर्चा भइरहेको भएपनि राज्यका निकायले संरक्षणमा चासो नदेखाउँदा अस्तित्व मेटिएको छ ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाको स्तरउन्नतीको क्रममा मुख्य आर्कषक मानिएको भागसम्म पुग्ने पदैलमार्ग पुरिएको छ भने सडकखण्डबाट समेत देख्न सकिदैन् । रुप्से झरना नजिकै रहेको गल्छीसम्म जाने पदमार्ग पुरिएको छ भने आर्कषक गल्छीको समेत परिचय हराएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने बेलामा दानाको काभ्रेमा सडक विस्तार गर्दा ठूला ढुंगा गल्छीमा खसाल्ने गरिएको थियो ।उत्तर–दक्षिण अन्तरदेशीय ब्यापारिक महत्व तथा गण्डकी प्रदेशको लाइफलाइन मानिएको सडकखण्डमा ठेकेदारको चरम लापरवाही तथा अन्नपूर्ण गाउँपालिका सहित सरोकारवालाको बेवास्ताका कारण गल्छीसम्म पुग्ने पदमार्ग सहित आवश्यक संरचना बनाउन सकिएको छैन् ।‘गल्छी हेर्न गएका पर्यटक निरास भएर फर्कछन्। सडकले गल्छी नै संकटमा परेको कसैलाई मतलव छैन’ अवलोकन गर्न गएका बेनीका आनन्द रिजालले भने ।
अन्नपूर्ण पदमार्ग तथा मुस्ताङको भ्रमणमा आएका आन्तरिक तथा बाह्य पर्यटकले रुप्से झरना र अन्धगल्छीको अवलोकन गर्ने गरेका छन् । स्थानीयबासीले सिमित सरकारी बजेटमा लामो समयसम्म जनश्रमदान गरी रुप्से झरनाबाट अन्धगल्छीसम्म पुग्ने पूर्वाधार, प्रतिक्षालय, पदमार्ग बनाएपनि बजेट अभावमा मर्मत हुन सकेको छैन । गल्छीको उचाई १३ सय मिटरदेखी २६ सय मिटरसम्म धौलागिरी र अन्नपूर्ण चुचुरोबाट ५५ सयदेखी ६८ सय मिटर तल पर्छ। गल्छीको खोज तथा अनुसन्धानमा आउनेले अन्धगल्छीलाई संसारकै सुन्दर र लुकेको गल्छीका रूपमा समेत ब्याख्या गर्ने गरिएको छ । दानाका वडा अध्यक्ष रमेश पूर्जाले गल्छीको संरक्षणका लागि बजेट माग गरिएको बताए ।

उनले अहिलेको अवस्थामा रहन नदिने गरी थप सक्रियता देखाउने प्रतिबद्धता जनाए । ‘पूर्वाधारको अभावमै धेरै समस्या भइरहेको छ। अझै गल्छी नै संकटमा परेपछि तत्काल बजेटमार्फत पर्यटकलाई सहजै अवलोकन गर्ने संरचना बनाउनुपर्छ’ वडा अध्यक्ष पूर्जाले भने । रुप्से झरना र अन्धगल्छी विश्वकै नमुना पर्यटकीय गन्तब्य बनाउनुपर्नेमा जलविद्युत आयोजना बनाउने र सडक विस्तार गदैं गल्छीको नाश गर्न खोजिएको स्थानीयबासीको गुनासो छ ।

दुलर्भ शालिग्राम पाइने एकमात्र नदी कालिगण्डलाई मुक्तिनाथदेखी देवघाटसम्म संरक्षण गरी धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वलाई प्रचारप्रसार गर्नुपर्नेमा पर्यटन क्षेत्रका जानकारहरुको जोड रहेको छ ।