शारजाह, (यूएई) – नेपाली क्रिकेटको उचाइ दिन–प्रतिदिन बढ्दै गइरहेका बेला, यूएईस्थित ‘ट्रेन्स फर ब्युटी एण्ड पर्सनल केयर’ रिकोसटिङ म्यानुफ्याक्चर कम्पनीले नेपालको क्रिकेट क्षेत्रको प्रोत्साहनका लागि उल्लेखनीय लगानी गरेको छ।
म्याग्दीको रघुगंगा गाउँपालिका–२, भगवती निवासी उद्यमी प्रकाश कार्कीद्वारा स्थापित कम्पनीले शनिबार शारजाहमा सम्पन्न नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय खेलमा प्रायोजन गर्दै क्रिकेट खेलको प्रमोशनमा समेत ठूलो रकम खर्च गरेको हो।
कम्पनीका कार्यकारी प्रमुख कार्कीले भने, “अब हाम्रो ध्यान घरेलु खेलसँगै अन्तर्राष्ट्रियस्तरका क्रिकेट खेलतर्फ पनि पुगेको छ। नेपालले क्रिकेटबाट आफ्नो शीर उच्च बनाएको छ, त्यसैले हामीले आफ्नो क्षमता अनुसार सहयोग गर्नैपर्छ।” कम्पनीमार्फत यूएईमा रहेका विभिन्न नेपाली संघ–संस्था र खेलकुद गतिविधिमा विगतदेखि नै सहयोग हुँदै आएको भए पनि यसपटक विशेष रूपमा नेपाली क्रिकेटलाई लक्षित गर्दै नयाँ योजना अघि सारेको कार्कीले जानकारी दिए।

उजोबा, निसा र ब्युटी क्लिन गरी तीन वटा ब्रान्डमार्फत करिब साढे दुई सयभन्दा बढी सौन्दर्य तथा व्यक्तिगत हेरचाहका उत्पादन गर्दै आएको यस कम्पनीले मुनाफाको एक अंश सामाजिक र खेल क्षेत्रको विकासमा खर्च गर्ने परम्परा कायम राख्दै आएको छ। कार्कीले गृहजिल्ला म्याग्दीका उदीयमान खेलाडीलाई प्रशिक्षण र आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

शारजाहमा भएको पहिलो टी–२० मा नेपालले आइसिसीको पूर्ण सदस्य वेस्ट इन्डिजलाई १९ रनले हराउँदै ऐतिहासिक जित दर्ता गर्दा, सो खेलमा उल्लेख्य प्रायोजक बनेको नेपाली कम्पनीमध्ये ट्रेन्स फर ब्युटी एण्ड पर्सनल केयर अग्रपंक्तिमा रहेको छ। २३ वर्षअघि ऋण खोजेर यूएई पुगेका कार्कीले आफ्नो संघर्ष र मेहनतबाट सन् २०१९ मा कम्पनी स्थापना गरेका थिए।

अहिले यो कम्पनीका उत्पादनहरू ७० भन्दा बढी देशमा निर्यात हुने गरेका छन्। कोभिड–१९ महामारीका बेला कम्पनीले सेनिटाइजरलगायतका स्वास्थ्य–सुरक्षासम्बन्धी सामग्री उत्पादन गरी यूएई सरकारलाई आपूर्ति गर्दै कोरोना रोकथाममा उल्लेखनीय योगदान गरेको थियो।
सो योगदानका लागि यूएई सरकारले कार्कीलाई प्रशंसा–पत्रसमेत प्रदान गरेको थियो। हाल कम्पनीमा साढे ३ सयभन्दा बढी नेपाली र विदेशी श्रमिकहरूलाई रोजगारी दिइएको छ। नेपालले सीमित स्रोत–साधनका बीच वेस्ट इन्डिजमाथि ऐतिहासिक जित हासिल गर्दा, ट्रेन्स फर ब्युटी एण्ड पर्सनल केयरको सहयोगलाई नेपाली क्रिकेटप्रेमीहरूले उच्च सराहना गरेका छन्।