---Advertisement---

यसरी भित्र्याइयो वडादसैंको फुलपाती (फोटो फिचरसहित)

On: September 29, 2025 7:40 PM
Follow Us:

नेपालीहरुको मुख्य पर्व बडादसैँ अन्तर्गत नवदुर्गाको सातौं दिन हिजो सोमबार म्याग्दीको सदरमुकाम बेनीबजार सहित विभिन्न कोत मन्दिरहरुमा हर्ष बढाइँका साथ फूलपाती भित्राइएको छ।

बेनी कोतभण्डार व्यवस्थापन समितिको आयोजनामा कोत मन्दिरबाट सुरु भएको पञ्चेबाजासहितको ¥यालीले बेनीबजारको परिक्रमा गरी सङ्गमचोकमा पूजा गरेर कुष्माण्ड (फूर्से) र बोका (छाग)को बलि दिई कोतमा फुलपाती प्रवेश गराइएको पूजा ब्यवस्थापन समितिका संयोजक राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

हिन्दू धर्म, संस्कृति र परम्पराअनुसार विधिपूर्वक पूजाआजा गरी फूलपाती भित्राइएको बेनी कोटभण्डार व्यवस्थापन समितिले जनाएको छ । परम्परागत रुपमा मनाइने फुलपाती पर्वको धार्मिक विधि र प्रक्रिया अनुसार पूजाआजा गरेर फूलप्रसादसहित फुलपाती भित्राइएको अवलोकन गर्न सर्वसाधारणहरु पुगेका थिए ।

सोही अवसरमा लक्ष्मीनारायण मन्दिर विकास समितिका पदाधिकारीले भजनकिर्तन समेत गरेका थिए भने नेपाल भाषा मंकाः खलका युवाहरुले ढिमे र बाँसुरी बाजा बजाएका थिए ।


कार्यक्रममा बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीको प्रमुख आतिथ्यता, निर्वतमान मेयर हरिकुमार श्रेष्ठ,बेनपा–७, बेनीका वडा अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रमेशकुमार श्रेष्ठ, ८ नम्बर वडाका अध्यक्ष उत्तमकुमार कर्माचार्यलगायत राजनीतिक दलका प्रमुख तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कोटभण्डार टोलवासीले कोतको लिपपोत र सङ्गमचोकवासीले फुलपाती बढाइँको लिपपोत र सरसफाइ गरेका थिए ।

बेनी नगरपालिका अन्तर्गत घतान कोत, पुलाचौर कोत, चिप्लेटीको निशानकोत, गाजनेको डढेकोत, ज्यामरुककोटको खड्गभवानी कोत, धवलागिरि गाउँपालिकाको ताकम कोत, रघुगंगाको राखुभगवती कोत, अन्नपूर्णको घार मन्दिरलगायत दुर्गा भगवतीको मन्दिरमा धार्मिक विधिअनुसार पूजाअर्चना गरी फूलपाती भित्राइएको जनाइएको छ ।


घटस्थापनादेखि पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्राउने धार्मिक मान्यता रहेको छ । यसै विहान म्याग्दीका सुरक्षा निकायले सदरमुकाम बेनीमा हर्ष बढाइँका साथ फूलपाती भित्राएका थिए ।

विगतमा जिल्लाका सुरक्षा निकाय तथा बेनी कोतमन्दिरको समन्वयमा हुने कार्यक्रम यसपटक भने फरक–फरक समयमा गरिएको थियो ।


नेपाली सेनाको अर्थुङ्गेस्थित रहेको गुरु गोरख गुल्म, नेपाल प्रहरी र शसस्त्र प्रहरीले बीच नेपाल पञ्चाङ्ग निर्णयक समितिले फुलपाती भित्राउने समय विहान रहेकाले माथिबाट आएको सूचनाको आधारमा धार्मिक परम्परा र हिन्दु संस्कार अनुसार पुजापाठ गरी बेनी कोत मन्दिरमा भित्राइएको जनाएको छ ।

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रिप्रसाद तिवारी, प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापा, शसस्त्र डिएसपी लिला भुजेल, राष्ट्रि«य अनुसन्धान प्रमुख बिजय पौडेल र नेपाली सेनाका गुल्मपति रामभोला खड्का सहित सुरक्षाकर्मीको उपस्थिती रहेको थियो ।

Leave a Comment