म्याग्दीको बेनी नगरपालिका-९,तिनमानेका १७ बर्षिय सुभग सुवेदी भारतको मुम्बईस्थित प्रतिष्ठित क्लब मुम्बई सकर प्रोडिजीज (एमएसपी)मा आवद्ध हुनुभएको छ ।

कलिलै उमेरमा फुटबल मोहका कारण निरन्तर अभ्यास तथा आधारभुत तहका प्रतियोगितामा समेत उत्कृष्ट खेल प्रर्दशन गर्नुभएका सुबेदीले आागमी नोभेम्बरदेखि भारतमा हुने मुम्बइ इलाइट प्रमियिर टप वान प्रतियोगितामा एमएसपी क्लवबाट मिडफिल्डरमा उत्रिने गरी टिममा छनौट हुनुभएको छ ।

बेनीस्थित माउण्ट एभरेष्ट आवासीय माविबाट बेनी बोर्डिङ कप समेत खेलेका सुबेदीले प्रतिभा मावि पोखराबाट मावि तथा उच्च माविस्तरीय फुटबल प्रतियोगिता हुदै बिष्णु पादुका क्लब हुँदै नेपालको ए डिभिजन क्लव मनाङ मस्याङ्दी फुटबल क्लवमा एक बर्ष आवद्ध भएर यूथ लिगमा ’डेब्यू’ गर्नुभएको थियो ।

अन्डर १६ को राष्ट्रियस्तरको खेलको अनुभव तथा निरन्तर अभ्यासका कारण हाल भारतीय क्लवमा आवद्ध भएका सुबेदीले आगामी लिगमा उत्कृष्ट खेल प्रर्दशन गरी भविष्यमा नेपालको कुशल र व्यावसायिक फुटबल खेलाडी बन्ने सपना रहेको बताउनुभयो ।

‘मैले भारतीय क्लवबाट आफ्नो खेल प्रतिभा देखाउनु छ, त्यहाँ मैले खेलसँगै धेरै सिक्ने अवसर पाएको छु’ सुबेदीले बेनीअनलाइनलाई भन्नुभयो ।

क्लवमा आवद्ध भएपछि निरन्तर अभ्यासपछि दशैं मान्न मंगलबार आफ्नै गाउँ आउन लाग्नुभएका सुबेदीले भारतमा अनुभवी खेलाडी तथा प्रशिक्षकबाट सिक्ने अवसर पाएको बताउनुभयो ।

प्रतिभा माविबाट एसइई, कक्षा १२ को पढाईसँगै खेललाई समेत निरन्तरता दिदाँ पढाइको दबाब,परिवारको अपेक्षा, र मैदानबाट केही समय अलग भएपनि भारतमा गएर प्रशिक्षणमा सहभागि हुने अवसरले फुटबलको यात्राले पुनः निरन्तरता पाएको अब पनि लगाव, निखारपना आवश्यक रहेको सुबेदीको भनाई छ ।

आफ्नो खेल जीवनमा निकै संघर्ष गर्नुपरेको अवस्थामा करियरका बनाउन अभिभावकको साथले उर्जा मिलेको बताउँदै देशका लागि खेल्ने सपना पूरा गर्ने अझै कठोर मेहनत चाहिने सुबेदीको भनाई छ ।