दसैँ पर्वलाई लक्षित गरेर मुस्ताङबाट बाहिरिएका भेडाच्याङ्ग्राको अनिवार्य स्वास्थ्य परीक्षण गरिएकोमा सबै निरोगी भेटिएका छन् । मुस्ताङ तथा कर्णाली प्रदेशका डोल्पा, मुगु र हुम्ला जिल्ला तथा चिनको तिब्वतबाट कोरला नाकाबाट बजार झरेका १४ हजार ६ सय ६८ भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षणमा कुनैपनि भेडाच्याङ्ग्रा रोगी नभेटिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।
मुस्ताङका ६ सय ७५ भेडा (च्यालुक),७ हजार २ सय १ च्याङ्ग्रा, डोल्पाबाट ५ हजार ९ सय, जुम्लाबाट ७ सय ७५, मुगुबाट ५ सय र तिब्वत हुदै कोरला नाकाबाट भित्रिका ५ सय ५० भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षणका क्रममा रोगी नभेटिएको केन्द्रका प्रमुख डा.लालमणी अर्यालले बताउनुभयो ।

ज्वरो, खोक्ने, ¥याल, सिगान काट्ने, झोक्राउने, रगत छेर्ने, सुख्खा कपाल लगायतका लक्षण भएका भेडाच्याङ्ग्रा नभेटिएको डा. अर्यालले बताउनुभयो ।केन्द्र प्रमुख डा. अर्यालले भन्नुभयो,‘‘बजारमा झरेका भेडाच्याङ्ग्रा स्वस्थ छन्, निर्धक्क सेवन गरे हुन्छ ।’’भेडाच्याङ्ग्रा पालक कृषकलाई केन्द्र तथा स्थानीय तहबाट समेत नियमित पिपिआर रोग विरुद्धको खोप, खोरेत लगायतका अन्य भ्याक्सिन नियमित लगाउने गरिएको छ ।

भेडाच्याङ्ग्रा पालक कृषकले बिरामी भएकालाई खोरमै राखेर उपचार गर्ने गरेकाले बिक्रीयोग्य मात्रै बजारमा आएको केन्द्र प्रमुख डा.अर्यालले बताउनुभयो । डा. अर्याल भन्नुहुन्छ,‘‘लामो बाटो ल्याउने क्रममा केही भेडाच्याङ्ग्राको खुट्टामा सामान्य चोटलाई उपचार गरी पठाएका छौ, कृषक सचेत भएकाले पनि उपभोक्तासम्म पुग्ने भेडाच्याङ्ग्राको मासु स्वथ्यकर छ ।’’मुस्ताङबाट कालिगण्डकी कोरिडोर अन्तरगत जोमसोम–बेनी सडक तथा केही ग्रामिण क्षेत्र हुदै पर्वत, कास्की, काठमाडौं लगायत जिल्लामा बिक्रीका लागि लगिएको छ ।

प्रतिगोटा भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेबापत पशु चिकित्सकलाई १५ रुपियाँ शुल्क तिर्नुपर्छ। स्वास्थ्य परीक्षण गरेर निरोगीको संकेत तथ जानकारी सहितको पत्रका आधारमा मात्रै मुस्ताङबाट ७२ घण्टाभित्र जिल्ला बाहिर जानुपर्ने नियम रहेको छ ।

यसैबीच तिब्वतबाट भित्रिने भेडाच्याङ्ग्राको तुलनामा मुस्ताङको स्वादिलो हुने भएकाले यसपटक उपभोक्ताको रोजाईमा मुस्ताङकै परेको ब्यापारी पशुपति सिवाकोटीले बताउनुभयो। ब्यापारी सिवाकोटीले भन्नुभयो,‘‘चिनियाँ च्याङ्ग्रा ठूलो भएपनि मासु नेपालीको जस्तो स्वादिलो हुदैन,नेपाली च्याङ्ग्रा नै पारखीको रोजाईमा छ ।’’मुस्ताङबाट बाहिरिएका भेडाच्याङ्ग्रा बाटोमा बिरामी भएमा पोखरामा अस्वस्थकरको स्टिकर समेत लगाउने गरिएको ब्यापारीको भनाई छ ।
बिरामी भेडाच्याङ्ग्राको सिङमा रातो रङको स्टिकर लगाइन्छ । समुन्द्री सतहदेखि २५ सय मिटरभन्दा माथिको उचाईमा कठोर हावापानीमा जडिबुटी खाएर करिब ३ देखि ५ बर्षसम्म हुर्किएका च्याङ्ग्रा महंगो भएपनि उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । पशुका जानकारहरूका अनुसार हिमाली बाख्राको नामले समेत चिनिने च्याङ्ग्राको मासु प्रोटिनको उत्कृष्ट स्रोत हुन्छ । मुस्ताङबाट बाहिरिने अधिकांस भेडाच्याङ्ग्राको गण्डकी प्रदेशका जिल्लामा धेरै बिक्री तथा त्यसपछि काठमाण्डौमा खपत हुन्छ ।