गायक प्रकाश दुतराजको नयाँ गीत ‘छैन र माया’ बोलको गीतबाट म्याग्दीकी अञ्जली जिसीले अभिनयमा डेब्यू गर्नुभएको छ ।मंगला गाउँपालिका–२,सल्यान घर भई हाल बेनी नगरपालिका–८ शिक्षामार्गमा बस्ने अञ्जलीको गायक प्रकाशसँगै म्यूजिक भिडियोको शीर्ष भूमिकामा अभिनय तथा नृत्य देख्न सकिन्छ ।
पोखराको ग्यालेक्सी कलेजमा कक्षा ११ मा म्यानेजमेन्ट विषयमा अध्ययनरत अञ्जलीको सांगितिक क्षेत्रमा देखाएको रुचीसँगै पहिलो म्यूजिक भिडियोमै चर्चा छ ।
प्रेमकथा बोकेको गीतको भिडियो मुस्ताङ जिल्लाका विभिन्न पर्यटकीयस्थलमा गरिएको सुटिङमा अञ्जलीको प्रस्तुतीको अहिले सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ । शनिबार विहानसम्म करिब ३६ लाखले युटुुवमा हेरिएको छ ।
म्यूजिक भिडियोमा गायक प्रकाश र अञ्जलीको अभियनको जोडी समेत मिलेको छ । सामाजिक संजाल फेसबुक, टिकटक र इन्स्टाग्राममा धेरैले बधाई र शुभकामना समेत दिएका छन् ।

‘लोकप्रिय गायकसँग म्यूजिक भिडियो खेल्न पाउँदा निकै खुसी छु, आगामी दिनमा अझै राम्रो गर्ने प्रयास गर्नेछु’अञ्जलीले बेनीअनलाइनलाई भन्नुभयो । कलाकार अञ्जलीले आफ्नो पहिलो प्राथमिकता पढाइसँगै अभियनमा समेत जोडिने बताउनुभयो। अञ्जलीका बुबा धुब्र जिसी म्याग्दीका लोकदोहोरी गायक समेत हुनुहुन्छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीको अध्यक्ष समेत रहनुभएका जिसीले ७ बर्षको उमेरमा आफ्नो एक गीतमा सहायक कलाकारको भूमिकामा देखिएकी छोरीको गीतसंगीतप्रतिको रुचीले ठाउँ पाएको र अवका दिनमा झनै उत्कृष्ट बनाउन आफ्नो निरन्तर सहयोग हुने बताउनुभयो ।

अञ्जलीले विद्यालयस्तरमा हुने नृत्य र अभिनयका कार्यक्रममा समेत सहभागिता जनाएको अनुभव छ ।

हँसिली र शान्त स्वाभाव भएकी अञ्जलीको कलाकारितामा राम्रो सम्भावना रहेको म्याग्दीका गायक अमृत विश्वकर्माले बताउनुभयो । ‘पहिलो म्यूजिक भिडियोमै निर्धक्कसंग अभिनय गर्न सक्ने क्षमता देखियो,अब चलेका कलाकारको रोजाईमा पर्नुहुन्छ,हामी सबैको शुभकामना छ’ गायक विश्वकर्माले भन्नुभयो ।

म्याग्दी जिल्लाकै लोकप्रिय गायक दुतराजले पहिलोपटक आफ्नो म्यूजिक भिडियोको अभियनको प्रमुख भुमिकामा म्याग्देली चेलीलाई अवसर दिएकोमा समेत गायक विश्वकर्माले धन्यवाद दिनुभयो । पछिल्लो समय म्याग्दीमा लोकदोहोरी सहित विभिन्न गीतमा म्यूजिक भिडियो छांयाकन सहित सांगितिक माहोल छ ।