पटक–पटक म्याद थप गर्दापनि पाँच वर्षसम्म सडक आयोजना सम्पन्न नगर्ने ठेकेदारको जमानत जफत गरिएको छ । पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधिन लुंखुदेउराली–मिलनचोक–बालाकोट–होश्राङदी सडक निर्माणको जिम्मा पाएको पीआर/ओमबुद्ध जेभी बसुन्धरा काठमाण्डौको मोबिलाइजेशन पेस्की वापतको बैंक जमानत पूर्वाधार विकास कार्यालय पर्वतले जफत गरी असुल गरेको हो ।
१८ महिनाभित्र काम सम्पन्न गर्नेगरी २०७८ साल जेठ १८ गते सम्झौता भएको सडक २०७९ साल फागुन १७ गते सम्पन्न गर्नुपर्ने थियो । तर पटक पटक म्याद थप गरी २०८१ साल चैत २९ गतेसम्मको समय दिँदापनि काममा नफर्किएपछि जमानत नै जफत गर्नुपरेको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले जानकारी दिनुभयो ।
कूल ११ करोड २२ लाख ६६ हजार रुपैयाँको लागतमा निर्माण हुने झन्डै ६ किलोमिटर लामो सडकको निर्धारित समयसम्म ३५ प्रतिशत मात्र भौतिक एवम् वित्तिय प्रगति भएको थियो । अब ठेक्का नै तोड्ने तयारी भएको छ । सडक निर्माण शुरू गरेर निर्माण व्यवसायी नै सम्पर्कबिहीन भएपछि सडक अझै अस्तव्यस्त बनेको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताउनुभयो ।
निर्माण शुरू भएपछि निर्माण व्यावसायीले चार करोड १३ लाख रुपैयाँ भुक्तानी लगेको थियो । गण्डकी प्रदेश सरकारको रणनीतिक सडक आयोजना अन्तर्गतको यो सडक अलपत्र पार्ने ठेकेदार कम्पनीलाई कारबाही गर्न स्थानीयवासीन्दाले माग गर्दै आएका थिए ।