---Advertisement---

बोलेरो जीप दुर्घटना: चार जनालाई थप उपचारका लागि पोखरा पठाइयो

On: October 8, 2025 7:06 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका ९ तुसारेपानीमा बुधवार बोलेरो जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन् । रघुगंगा गाउँपालिका–८,कुईनेमङ्गलेबाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ग २ च ५९३० नम्बरको जीप अचानक ब्रेक फेल भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

ब्रेक फेल भई जीप सडकबाट अन्दाजी एकसय मिटरभन्दा तल खसेर दुर्घटनामा परेको थियो । उक्त जीपमा सवारमध्ये रघुगंगा ८ कुईनेखानीका २९ वर्षीय पूर्ण छन्त्याल, ४१ वर्षीया रिता छन्त्याल, २६ वर्षीया नन्दा छन्त्याल र २७ वर्षीया बिना छन्त्याललाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको प्रदेश अस्पताल बेनी म्याग्दीले जनाएको छ ।

अन्य घाइतेहरुको भने बेनी अस्पतालमा उपचार भैरहेको छ । जीप दुर्घटनामा परेर घाइते हुनेहरुमा धवलागिरि–५ मलम्पारकी २५ वर्षीया रिया छन्त्याल, मल्कबाङका ४६ वर्षीय नवीन छन्त्याल र ७ वर्षीया क्रिष्टिना छन्त्याल रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो । त्यस्तै रघुगंगा–८ बस्ने २१ वर्षीया अष्मी छन्त्याल, ३ वर्षीय जेनिष छन्त्याल, २० वर्षीया कविता छन्त्याल, १५ वर्षीय नेश्नल छन्त्याल, ३३ वर्षीया तकमाया छन्त्याल, ९ वर्षीय सफल छन्त्याल र जीपचालक धवलागिरि ४ सिमकोटका ३४ वर्षीय चन्द्र पूर्जा रहेको उहाँले बताउनुभयो ।

जीप दुर्घटनाका घाइतेहरुको हातखुट्टा, छाती, टाउको, अनुहार, मेरुदण्डका साथै शरिरको विभिन्न भागहरुमा चोटपटक लागेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । बोलेरो जीपका चालक पूर्जालाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाको बारेमा अनुसन्धान भैरहेको सूचना अधिकारी समेत रहनुभएका प्रहरी निरीक्षक पौडेलले बताउनुभयो । जीपको क्षमताभन्दा धेरै यात्रु चढेको हुँदा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

Leave a Comment