---Advertisement---

म्याग्दी सिंगाको दुध पोखरामा बिक्री

On: October 10, 2025 12:34 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा उत्पादित दुध पोखरामा पठाउन थालिएको छ । गाउँमा उत्पादन भएको दूध स्थानीय बजारमा खपत हुन नसकेपछि बास्कुना कृषि सहकारीले दूध सङ्कलन गरेर पोखराको सुजल डेरी उद्योगलाई बिक्री गर्न थालेको हो ।

वडा कार्यालयको पहलमा कृषि सहकारी र सुजल डेरी प्रालिबीच दूध उत्पादन तथा खरिद बिक्रीको सम्झौता गरी म्याग्दीबाट पहिलोपटक व्यावसायिक रुपमा दूध पोखरा पठाउन सुरु गरिएको सहकारीका अध्यक्ष तिलक गुरुङले जानकारी दिए ।

म्याग्दीको स्थानीय बजारमा गाईको दूध खपत नहुने भएपछि सहकारीले कृषकहरुबाट दूध सङ्कलन गर्ने र उद्योगले आफैँ आएर दूध खरिद गरेर लैजाने व्यवस्था मिलाइएको अगुवा कृषक समेत रहेका सहकारीका अध्यक्ष गुरुङले बताए । ‘अहिलेसम्म भैँसीको दूध मात्रै बेनीमा खपत हुने गरेको थियो, अब गाई र भैँसीको दूध नै बिक्री हुने सुनिश्चित भएको छ, कृषकले जति उत्पादन गरे पनि उद्योगले दूध खरिद गर्ने सम्झौता भएको छ’, उनले भने ।

बास्कुना कृषि सहकारी सस्थाले सिंगाको पुलचोकमा दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना गरेको छ । कृषकहरुले हरेक दिन केन्द्रमा दूध सङ्कलन गर्ने र ५ सय लिटर बढी दूध सङ्कलन भएपछि उद्योगले आफैँ ढुवानी गरेर दूध लैजाने व्यवस्था मिलाइएको छ ।

मङ्गलबार पहिलो दिन ७५० लिटर दूध उद्योगले खरिद गरेर लगेको सहकारीले जनाएको छ । दुग्ध सङ्कलन केन्द्रमा अहिले २० जना कृषकहरुले दैनिक रुपमा दूध बिक्री गर्न ल्याउन सुरु गरेका छन् । सुजल डेरी उद्योगको दूध ढुवानी गर्ने ट्याङ्कर अहिले दुई दिनमा एक पटक सिंगा आएर दूध ढुवानी गरी लैजान थालेको छ ।
मेसिनबाट दूधको गुणस्तर मापन गर्ने र गुणस्तरका आधारमा मूल्य पाउने गरी स्थानीयस्तरमा उत्पादन भएको दूधलाई पोखरा निर्यात गर्ने प्रबन्ध मिलाइएको बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्काले बताए । उनका अनुसार, कृषकलाई १५÷१५ दिनमा दूधको रकम भक्तानी हुने सम्झौता गरिएको छ ।

‘गाईको दूधले बजार पाउने अवस्था थिएन, कतिपय समुदायले उत्पादन गरेको दूध स्थानीय बजारमा खपत हुने अवस्था थिएन, अब यी सबै समस्याको समाधान भएको छ”, वडा अध्यक्ष खड्काले भने । गाईको दूधले बजार पाउने सुनिश्चित भएपछि सिंगामा गाईपालनको लहर चलेको छ । सिंगामा यसअघि शुभकामना कृषि सहकारी संस्थाले कृषकहरुको दूध सङ्कलन गरेर बेनी बजारमा बजारीकरण गर्दै आएको छ ।

Leave a Comment