म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा बहुउद्देश्यीय कवर्डहल निर्माण भएको छ । बेनी नगरपालिकाको सहयोगमा स्थानीयबासीले श्रमदान गरेर खेलकुद, सामाजिक र सांस्कृतिक कार्यका लागि कवर्डहल निर्माण गरेका हुन् ।
नगरपालिकाले रु. १० लाख उपलब्ध गराएको कवर्डहल निर्माणका लागि उपभोक्ताहरुले थप रु. तीन लाख ७० हजार बराबरको श्रमदान गरेका निर्माण समितिका अध्यक्ष हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार वडा कार्यालयले अपुग थप रु. दुई लाख रकम भुक्तानीका लागि नगरपालिका कार्यालयमा सिफारिस गरेको छ ।

पर्याप्त बजेटको ब्यवस्था नहुँदा चार वर्ष लगाएर कवर्डहल निर्माणलाई पूर्णता दिएको अध्यक्ष पौडेलले बताउनुभयो । राजीखोला किनारमा पक्की तटबन्ध बनेपछि संरक्षण भएको खाली सार्वजनिक जग्गा सम्माएर वरीपरि फलामको फिल्लर ठडाएर जस्तापाटाले बारेर कवर्डहल बनाइएको छ । सिमित स्रोतको परिचालन गरेर मितब्ययी किसिमले कवर्डहल बनाएको निर्माण समितिले जनाएको छ । कवर्डहलको शुक्रबार बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान) ले उद्घाटन गर्नुभयो ।

उहाँले स्थानीयबासीहरुलाई फुर्सदको समय सदुपयोग र शारिरिक कसरतका लागि ब्याडमिन्टन खेल अभ्यास गर्न, प्रतियोगिता आयोजना गर्न, बिवाह, ब्रतबन्ध, भेला, बैठक गर्न सुविधा पुगोस भन्ने उद्देश्यले कवर्डहल बनाएको बताउनुभयो ।
उक्त वडाको तातोपानीमा पनि कवर्डहल निर्माण भएको र थामडाडा टोलमा कवर्डहल बनाउन लागिएको अध्यक्ष खड्काले बताउनुभयो । कवर्डहलमा शुक्रबारदेखि सिंगा ब्याडमिन्टन संघको आयोजनामा प्रथम मनप्रसाद, इन्दु स्मृति पुरुष डि –लेभल ब्याडमिन्टन कप प्रतियोगिता शुरु भएको छ ।
बेनी नगरपालिका–४ को कार्यालय र जनचेतना युवा क्लवको सहयोगमा प्रतियोगिता सञ्चालन भएको हो । कवर्डहल र ब्याडमिन्टन प्रतियोगिता उद्घाटन कार्यक्रममा सहयोगदाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन देवेन्द्र चोखालले गर्नुभएको थियो ।