म्याग्दी कारागारबाट एक महिना हप्ताअघि भागेका ७१ जना कैदीबन्दीलाई प्रहरीले कारागार फर्काएको छ । बेनी नगरपालिका–२ खबरामा रहेको म्याग्दी जिल्ला कारागारबाट भदौ २५ गते बिहान तालाचाबी तोडफोड गरेर ७६ जना कैदीबन्दी भागेका थिए ।
फरार बन्दी खोजी तथा पक्राउ कार्यदलका अनुसार पाँच जना बाहेक ७१ जनालाई कारागार फर्काइएको हो । कार्यदलले बिहिबार सूचना जारी गरेर हालसम्म कारागार नर्फकीएका पाँच जना कैदीहरुको नाम सार्वजनिक गरेको छ ।
असोज २० गतेसम्म कारागार फर्कन कार्यदलले समयसिमा तोकेको थियो । जवरजस्ती करणी सम्बन्धी मुद्दाका बेनपा–५ का बिक्रम भन्ने कमल परियार, कर्तब्य ज्यान मुद्दाका रघुगङ्गा–४ का के बहादुर गर्बुजा, धवलागिरी गाउँपालिका–४ का अमृत पूर्जा, पुथा उत्तरगंगा गाउँपालिका–९ पुर्वी रुकुमका अनिल बिक र लागू औषध मुद्दाका भारतको बिहारका अजितकुमार पासवान फरार छन् ।
कार्यदलले सार्वजनिक सूचना मार्फत फरार बन्दीहरुलाई कारागार फर्काउन सूचना दिन अनुरोध र लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई कसुरदार ठानी प्रचलित कानुन बमोजिम कारवाही गरिने जानकारी गराएको छ ।

कारागारमा भएका ८८ जना मध्य महिला बल्कमा रहेका छ जना, पुरुष बल्कका छ जना बिरामी र हिड्न नसक्ने बाहेक सबै ताला तोडेर भागेका थिए । यसैगरी कैदीबन्दी भगाउन सहयोग गरेको आरोपमा पक्राउ परेका सात जनालाई म्याग्दी जिल्ला अदालतले बुधबार जनही रु. एक÷एक लाख घरौटीमा छोड्न आदेश दिएको छ । प्रहरीले उनिहरुलाई पक्राउ गरेर कारागार ऐन २०७९ बमोजिम मुद्दा चलाएको थियो ।