म्याग्दीको बेनी नगरपालिका ४ तातोपानीको सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा शुक्रवारदेखि दन्त शिविर तथा सचेतनामूलक कार्यक्रम सुरु भएको छ । नेलम्बो नेपाल र नेपाल रेडक्रस सोसाइटी सिङ्गा उपशाखाको संयुक्त आयोजनामा दन्त शिविर सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको हो ।
समाजकल्याण परिषद, जिल्ला प्रशासन कार्यालय म्याग्दी, बेनी नगरपालिका, ४ नम्बर वडा कार्यालयको समन्वय रहेको कार्यक्रममा विशेष सहयोगी संस्थाहरुमा तातोपानी कुण्ड व्यवस्थापन समिति, रेडक्रस म्याग्दी शाखा, सरस्वती मावि, तातोपानी होटल तथा रेष्टुरेण्ट इकाई समिति, तातोपानी तल्लो र उपल्लो बजार टोल विकास संस्था, जलमाई भगवती आमा समूह, हटस्प्रिङ युवा क्लब, सिङ्गा स्वास्थ्यचौकी र लायन्स क्लब अफ तातोपानी रहेका छन् ।

दन्त शिविरको उद्घाटन गर्दै बेनी नगरपालिका वडानम्बर ४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले शिविरको भरपुर उपयोग गर्न वडावासीलाई सुझाव दिनुभयो । उहाँले रेडक्रस उपशाखाले समुदायमा पर्ने आपत्विपद्को अवस्थामा तत्कालै आवश्यक सहयोग उपलब्ध गराउँदै आइरहेको हुँदा आगामी दिनमा पनि मानवीय सहयोग तथा स्वास्थ्य शिविरलगायत कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीका सभापति अमर बानियाँले समुदायमा पर्ने जुनसुकै आपत्विपद्मा पनि रेडक्रसको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले दन्त शिविर कार्यक्रम मानव स्वास्थ्य र समुदायमा सचेतनाको लागि पनि अति आवश्यक भएको बताउँदै मानव शरिरको महत्वपूर्ण अङ्गमध्ये एक दाँतको सुरक्षा अति आवश्यक रहेकोमा जोड दिनुभयो । नेलम्बो नेपालका कार्यक्रम संयोजक भीमप्रसाद भण्डारीले संस्थामार्फत दन्त सेवा सञ्चालनसँगै शैक्षिक क्षेत्रमा पनि सहयोग गर्दै आइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्का र सरस्वती माविको विद्यालय व्यवस्थापन समिति अध्यक्ष वीरेन्द्रमान शाक्यले दन्त शिविर कार्यक्रम मानव स्वास्थ्यका लागि महत्वपूर्ण रहेको बताउनुभयो । सरस्वती माविका प्रधानाध्यापक गुरुदत्त पौडेलले स्वागत गर्नुभएको कार्यक्रमको उद्घाटनसत्र रेडक्रस सिङ्गा उपशाखा सभापति सुमन बानियाँको अध्यक्षता र सचिव नारायण खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।
आगामी मङ्गलवारसम्म सञ्चालन हुने दन्त शिविरमा दन्तरोग विशेषज्ञ डाक्टर दिक्षा क्षत्री, डेन्टल हाईजेनिष्ट अस्मिता खाँड शाही, वर्षा थापामगरसहितको टोलीले दाँत सम्बन्धी समस्याको उपचार गरिरहनुभएको छ । यसैगरी शिविरमा नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले अनुगमन तथा निरीक्षण समेत गर्नुभएको उपशाखा सभापति बानियाँले जानकारी दिनुभयो ।