आइसिसी टी-२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्स चरणको पहिलो खेलमा नेपालले चिर प्रतिद्वन्द्वी संयुक्त अरब एमिरेट्स (यूएई)माथि १ रनको रोमाञ्चक जित निकालेको छ । यस जितसँगै नेपालले लगातार दोस्रोपटक विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ । नेपाल र यूएई दुबैका लागि यो खेल निर्णायक थियो । जित्ने टोली विश्वकपनजिक पुग्ने सम्भावना बढ्ने स्थिति थियो ।
आइतबार ओमानको अल एमिरेट क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याउँदै यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन मात्र बनाउन सक्यो ।
नेपालले यसअघि समूह चरणमा जापानलाई पराजित गर्दै दुई अंक हासिल गरेको थियो । यो जितपछि सुपर सिक्समा नेपालको कुल अंक चार पुगेको छ । त्यस्तै, कतारलाई ३४ रनले हराउँदै ओमानले पनि चार अंकसहित शीर्ष स्थानमा स्थान बनाएको छ । समान अंक भए पनि नेपाल नेट रनरेटमा पछि पर्दै दोस्रो स्थानमा छ । यूएई भने दुई अंकसहित तेस्रो स्थानमा रहेको छ ।
यूएईका अलिसान सराफुले ४० बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक ५८ रन बनाउनुभयो, तर टोलीलाई जित दिलाउन सक्नुभएन । उहाँ दिपेन्द्र सिंह ऐरिबाट बोल्ड आउट हुनुभयो । ओपनर जोनाथन फीजी १९ रनमा आउट हुनुभयो भने ध्रुव परासरले ३२ रनको योगदान दिनुभयो ।
१९औँ ओभरको अन्तिम बलमा परासरले नन्दन यादवलाई छक्का हानेपछि नेपाल दबाबमा आएको थियो । त्यसपछि अन्तिम ओभरमा स्थिति झन् रोमाञ्चक बन्यो । यूएईलाई जितका लागि आठ रन आवश्यक थियो । तेस्रो बलमा सराफले दिपेन्द्र सिंह ऐरिलाई छक्का प्रहार गर्दै खेललाई निर्णायक मोडमा लग्नुभयो, तर चौथो बलमै सन्दीप जोराले परासरलाई क्याच आउट गराएपछि नेपालको जित सुनिश्चित भयो । ओभरको अन्तिम क्षणमा हाइडर अली र जैद अली रन आउट भएपछि नेपालले १ रनले जित दर्ता गर्न सफल भयो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरिले ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गर्नुभयो । सोमपाल कामी, गुल्सन झा र सन्दीप लामिछानेले समान एक–एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४० रन बनाएको थियो । ओपनर आशिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७.५ ओभरमा ५६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाउनुभयो । भुर्तेलले २६ बलमा २ चौका र २ छक्कासहित २८ रन बनाउनुभयो ।
कप्तान रोहित पौडेल २० रनमा आउट हुनुभयो भने आशिफ शेखले ४७ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गर्नुभयो । उहाँ ५१ रनमा बोल्ड आउट हुनुभयो । मध्यक्रमका दिपेन्द्र सिंह ऐरि १ रनमा आउट हुनुभयो भने गुल्सन झाले ५ बलमा २ चौका र १ छक्कासहित १४ रनको तेज पारी खेल्नुभयो । उहाँले १८औँ ओभरमा लगातार चौका-छक्का-चौका प्रहार गरे पनि पाँचौँ बलमा क्याच आउट हुनुभयो । कुशल मल्ल १० रनमा आउट हुनुभयो । सन्दीप जोरा ४ रन र सोमपाल कामी ६ रनमा अविजित रहनुभएको थियो । यूएइका लागि हर्सित कौशिक, ध्रुव परासर, जाहिद अली, हाइडर अली, जुनैद सिद्दीकी र मुहम्मद रोहिदले समान एक-एक विकेट लिनुभयो । यो जितसँगै नेपालले सुपर सिक्समा चार अंक जोडेको छ ।