म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँट र वडा नं ३ भकिम्लीको सीमानामा पर्ने कोप्रे झरना आन्तरिक पर्यटकहरुको लागि आकर्षक गन्तव्य स्थल बन्न थालेको छ ।
घना जङ्गलको हरियाली भित्र, पहराको कडा चट्टानसँग लडिबुडि खेल्दै झरेको यो झरना सदरमुकाम बेनीबजारदेखि नजिकै (४ किलोमिटरको दुरीमा) रहेकोले पनि बेनी बजारबाट दैनिक एकसय बढी आन्तरिक पर्यटकहरु यहाँ आउने गरेका स्थानीयले बताउछन् । शनिबार र सार्वजनिक विदाका दिन यहाँ निकै भीड लाग्ने गरेको बेनी नगरपालिका २ बगरफाँटका सुनिल थापाले बताउनुभयो ।
झरनाको नजिकै समथर खेतको फाँट,बेनी–बगरफाँट–भकिम्ली सडक, पुछारमा कलकल बगेको म्याग्दी नदी र शिरानमा घना जङ्गलको मनमोहक दृश्यले मोहित तुल्याएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।
“सहरको कोलाहलबाट टाढा,शान्त वातावरण,हरियाली र चट्टानको काखबाट झरिरहेको सेता पानीको धारा,चिसो हावा र सुस्त गतिमा झरनाको आत्मीय स्पर्श यहाँ पुग्ने जो कसैका लागि पनि अविश्मरणीय रहन्छ” नगरप्रमुख केसीले भन्नुभयो ।
जङ्गलको शिरानमा रहेको पहाडमा अंग्रेजी भी अक्षर आकारमा अर्धशोली परेर झरेको झरना प्रकृतिसँग एकाकार हुन चाहनेहरुको लागि उत्कृष्ट स्थल भएको पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले बताउनुभयो ।

बेनीको मंगलाघाट स्थित झोलुङ्गे पुल वा बेनी नगरपालिका अगाडी म्याग्दी नदीमाथि बनेको मोटरेबल पुल तरेर पैदल वा सवारी साधनमार्फत झरनाको फेदीमा पुग्न सकिन्छ । म्याग्दी खोलाको काखमा रहेको सुन्दर शान्त बगरफाँट बस्तीलाई छिचोल्दै सवारी साधनमार्फत १० मिनेट र पैदल आधा घण्टामा पुग्न सकिने यो झरना करीब २ सय मिटर उचाईबाट तीब्र बेगका साथ कोप्रेमा झर्छ ।
कोप्रे झरनाको नजिकै अर्को एउटा झरना पनि रहेको छ । दिउस पानी उड्ने यो झरनालाई स्थानीयले उडाइनो झरना नामाकरण गरेका छन् । यहाँ विशेषगरी युवा युवतीहरु आएर रमाइलो गर्दै दिन विताउने गरेका स्थानीय युवा सज्जन जिसीले बताउनुभयो । बेनी नगरपालिका २ बगरफाँटमा पर्ने उडाइनो झरना र बेनी नगरपालिका ३ भकिम्लीको दुधेखोलामा पर्ने कोप्रो झरना दुवै वडाका आकर्षक झरना हुन् ।
पछिल्लो समय बेनी नगरपालिकाले यो झरनालाई पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि झरनाको नजिकै लभ्ली पार्क समेत निर्माण गरेको छ । स्थानीय नारायण कार्कीको अगुवाइमा यहाँ पर्यटन पूर्वाधार निर्माणका कामहरु भइरहेका छन् ।
बेनी नगरपालिकाको रु एक लाख ५० हजार लगानीमा पहिलो चरणमा जमिन सम्याउने ,कुर्सी राख्ने र फूल तथा वृक्षरोपण गर्ने काम भएको झरना लभ्ली पार्क निर्माण समितिका अध्यक्ष नारायण कार्कीले बताउनुभयो ।
“सदरमुकाम नजिकै नयाँ पर्यटकीयस्थलका रूपमा विकास भएको कोप्रे झरनामा आन्तरिक पर्यटकहरूलाई आकर्षित गर्न बगैँचासहितको आकर्षक पार्क बनाउन लागिएको हो । बस्नका लागि आराम कुर्सीसहित ससाना केटाकेटी, युवायुवती र वृद्धवृद्धाहरूका लागि अनुकूल हुने संरचना निर्माण भएका छन्”, अध्यक्ष कार्कीले भन्नुभयो ।
“चालु आर्थिक वर्षमा नगरपालिकाले जमिन सम्म्याउनका लागि मात्र बजेट विनियोजन गरेकाले उक्त बजेटको परिधिमा रही काम सुरु गरेका हौँ, आगामी आर्थिक वर्षमा पार्क निर्माण कार्यलाई पूर्णता दिन्छौँ”, कार्कीले भन्नुभयो ।
कोप्रे झरनाका नजिक पानी उड्ने छहरा, एक सय २६ वर्ष पुरानो ऐतिहासिक घुमाउने चौतारो, बगरफाँटमा तीन रोपनी क्षेत्रफलको विशाल चट्टानमाथि निर्माण गरिएको आकर्षक देवीको मन्दिर, शिवालय, गुफालगायतका धार्मिक तथा पर्यटकीयस्थल पनि छन् । त्यहाँ पुग्ने प्रकृतिप्रेमी पार्क घमेर फर्कन वडाध्यक्ष कार्कीको विश्वास छ ।