---Advertisement---

बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन

On: October 13, 2025 10:46 AM
Follow Us:

यस वर्ष जिल्लामा एक अर्ब ९४ करोड ६० लाख मूल्य रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । यहाँका किसानले बर्खे र हिउँदे गरी दुई याममा आलुखेती गर्दै आएका छन् ।

हिउँदेभन्दा बर्खे आलु उत्पादन बढी हुने गरेको छ । आलु उत्पादनका हिसाबले जिल्लाको माथिल्लो क्षेत्र उपयुक्त रहेकाले बर्सेनि करोडौँ मूल्य बराबरको आलु उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्र बागलुङले आलुखेतीमा लगानी गर्दै आएपछि किसानसमेत यसतर्फ आकर्षित भएका छन् । 

यहाँको तमानखोला, ताराखोला, निसीखोला, काठेखोला गाउँपालिका, ढोरपाटन र गलकोट नगरपालिकालगायत क्षेत्रमा आलु उत्पादन बढी हुने गर्छ । 

यस वर्ष दुई हजार ८६० हेक्टर क्षेत्रफलमा आलु लगाइएकामा ५५ हजार ६०० मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी सन्तोष अधिकारीले जानकारीले दिए । 

अघिल्लो वर्षको तुलनामा यसवर्ष खेती गरेको क्षेत्र र उत्पादनमा कमी आएको उनको भनाइ छ ।

उनका अनुसार गत वर्ष तीन हजार ७०० हेक्टर क्षेत्रफलमा आलु लगाइएको थियो । ५६ हजार २४० मेट्रिकटन उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष ८४० हेक्टर कम क्षेत्रफलमा आलु लगाइएको थियो । 

आलु प्रति किलो ३५ रुपैयाँमा विक्री भएको अधिकारीले जानकारी दिए । ज्ञान केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा दुई करोड ६० लाख रुपैयाँ, २०८१/८२ मा एक करोड ५९ लाख रुपैयाँ र चालु आर्थिक वर्षमा ५५ लाख ९० हजार रुपैयाँ लागतमा नयाँ क्षेत्र विस्तार गरेको छ ।

यहाँ उत्पादित आलु बागलुङ, बुटवल, चितवनलगायत सहरमा पुग्ने गरेको छ । किसानले अघिल्लो वर्ष हिउँदे आलु प्रतिकिलो ४० र बर्खे आलु प्रतिकिलो ५० रुपैयाँमा बिक्री गरे पनि यस वर्ष ३५ रुपैयाँमात्रै मूल्य पाएको ज्ञान केन्द्रले जनाएको छ । आलु लगाउने बेला लामो समय खडेरी पर्दा यसवर्ष उत्पादनमा थोरै गिरावट आएको हो । रासस

Leave a Comment