---Advertisement---

आवासविहीन परिवारको ओढारमा बास

On: October 13, 2025 10:54 AM
Follow Us:

पश्चिम बागलुङको बडीगाड गाउँपालिका–४, जलजलामा एक परिवारको ओत लाग्ने घर नहुँदा ओढारमा बस्न बाध्य भएका छन् । घरधनीले बस्दै आएको घरबाट निस्कन भनेपछि जलजलामा जन्मे पनि सानै उमेरदेखि बडीगाड गाउँपालिका–५, ग्वालीचौरको बजार क्षेत्रमा मजदुरी गरेर परिवार पाल्दै आउनुभएका ४६ वर्षीय आवासविहीन केशव पुनको आठ जनाको परिवारले ओत लाग्न ओढारको सहारा लिएको हो । 

जीवनको उत्तराद्र्धमा रहनुभएकी ८२ वर्षीय आमा जमुनाकुमारी पुन, श्रीमती, तीन छोरी र दुई छोरासहित पुन परिवार अहिले बडीगाड–५, ग्वालीचौरको कालीमाटीखोला किनारको ओढारमा बस्दै आएका छन् । ओढारमा बस्दा जङ्गली जनावरको डरसँगै पानी र चट्याङ पर्दा ससाना बालबच्चा निदाउनै नसकेको पुनले दुःखेसो पोख्नुभयो । 

“सामान्य ज्याला मजदुरी गरेर खाने मान्छे हो । यसैबाट परिवार पाल्दै आएको छु । श्रीमती र छोरीहरूले पनि होटेलमा काम गर्छन्,” पुनले निराश हुँदै भन्नुभयो, “अरूको घरमा बसिएको थियो, घरधनीले छोड भनेपछि छोड्नु प¥यो, तत्काल भाडाको घर खोजेर बस्ने स्थिति छैन । कसैले मेरो परिवारलाई बस्ने बासको व्यवस्था गरिदिए धर्मै लाग्ने थियो ।”

ठुलो परिवार भएकाले कहिलेकाहीँ कामविहीन हुँदा छोराछोरीलाई भोकै राख्नु परेको पुनले बताउनुभयो । छोराछोरीलाई पढाउनसमेत नसकेपछि स्थानीय पौदीटारी आधारभूत विद्यालयले दुई छोरालाई निःशुल्क पोसाक र शैक्षिक सामग्री उपलब्ध गराएर पठनपाठनको व्यवस्था गरेको छ । स्थानीय नवीन कुँवरले तत्कालका लागि उहाँहरूलाई खाने व्यवस्था गरिदिए पनि उपयुक्त बासको व्यवस्था भने गर्न नसकिएको बताउनुभयो । “चिसो पनि बढ्दै गएको छ । बुढी आमासहित बालबालिकाको ख्याल गर्नुपर्ने समयमा परिवार यस्तो अवस्थामा पुग्नु दुःखद हो, स्थानीय सरकारले गरिब दुःखी नागरिकलाई हेर्नुपर्ने,” कुँवरको भनाइ छ ।   

Leave a Comment