---Advertisement---

सिंगा तातोपानीमा स्नान गर्नेको घुइँचो

On: October 13, 2025 12:51 PM
Follow Us:

बेनी नगरपालिका–४ मा रहेको सिंगा तातोपानीका होटल र घरबास ‘होमस्टे’ केही दिनयता भरिभराउ भएका छन्। तातोपानी कुण्डमा स्नानका लागि देशका विभिन्न ठाउँबाट आएका पाहुनाले त्यहाँका होटल र होमस्टे भरिएका छन्।

तातोपानीका होटल व्यवसायी जीवन केसीले दसैंयता होटल र घरबासका कोठा खाली नभएको बताए। ‘सानाठूला २० भन्दा धेरै होटलका कोठा एक हप्तायता भरिभराउ भएका छन्,’ उनले भने, ‘होमस्टेमा पाहुनाले आफैं पकाएर खाने र बस्नका लागि घरका कोठा पनि पाउन मुस्किल भएको छ।’

व्यवसायीका अनुसार तातोपानीमा हाल बास बस्ने पाहुनाको संख्या दैनिक एक हजार ५०० को हाराहारीमा छ। असोज–कात्तिक, मंसिर, पुस, माघ, फागुन, चैत र वैशाख महिना तातोपानी कुण्डमा स्नान गर्ने याम हो। जेठदेखि भदौसम्म तातोपानी सुनसान थियो। चिसो बढेको, विद्यालय र क्याम्पसमा लामो बिदा भएको र बाली भित्र्याउने चटारो नभएकोले तातोपानी स्नान गरेर उपचारका लागि आउनेको चाप बढेको छ।

तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव अम्मरबहादुर खत्रीले स्नान गर्न आउनेको चाप बढेकाले बिहान साढे ५:०० देखि साँझ ५:०० बजेसम्म महिला, पुरुषको छवटा समूह बनाएर स्नानको व्यवस्था मिलाइएको जानकारी दिए। ‘सात सय महिला र चारदेखि पाँच सय पुरुष तातोपानी स्नानका लागि आएका छन्,’ उनले भने, ‘महिला र पुरुषको छुट्टाछुट्टै समूह बनाएर दुई-दुई घण्टाका दरले स्नान गर्ने व्यवस्था मिलाइएको छ।’

म्याग्दी नदीको किनारमा प्राकृतिक रूपमा बिरेनुनको गन्ध आउने ५० डिग्री सेल्सियस तापक्रममा निस्कने तातोपानीलाई संकलन गरेको पोखरीमा स्नानको व्यवस्था मिलाइएको छ। बिरेनुनको गन्ध आउने पानी संकलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ।

बागलुङका सुमन निउरेले चोट लागेपछि खुट्टाको दुखाइ कम गर्न तातोपानीमा स्नानका लागि आएको बताए। तातोपानी संकलन गरिएको तलाउमा १० दिन स्नान गर्न प्रतिव्यक्ति रु ३५० शुल्क तिर्नुपर्छ। प्रवेश शुल्कको १३ प्रतिशत सरकारलाई कर र २५ प्रतिशत बेनी नगरपालिकालाई बुझाइन्छ।

गत वर्ष नेपालका ६६ जिल्लाका साथै कोरिया, पोल्याण्ड, युक्रेन, स्कटल्यान्ड, रसिया, जापान र भारतका २० हजार ३४७ जना तातोपानी कुण्डमा स्नानका लागि आएका थिए। समितिका कर्मचारी रेशम कार्कीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १९ हजार ४०३ र २०७९/८० मा १८ हजार जनाले स्नान गरेका थिए। रासस

Leave a Comment