---Advertisement---

जलाइएका भवन अध्ययन गर्न गएका इन्जिनियरहरू नै चकित

On: October 14, 2025 7:59 AM
Follow Us:

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते जलाइएका र तोडफोड भएका सरकारी भवनहरूको अध्ययन गर्न गएका इन्जिनियरहरू नै आन्दोलनकारीहरूले भवन जलाएको तरिका र विधि देखेर अचम्म परेका छन्। 

खासगरी सिंहदबार, काठमाडौं जिल्ला अदालत र सर्वोच्च अदालतको भवन योजनाबद्ध तरिकाबाट जलाइएको उनीहरूको अनुमान छ। यसमा अदालत र सिंहदरबारको विषयमा सबै बुझेका र देखेका केही व्यक्तिको समेत संलग्नता हुन सक्ने उनीहरूको अनुमान छ।

‘सरकार र प्रहरीले यस विषयमा गम्भीर र विस्तृत अध्ययन गर्ने हो भने धेरै रहस्य खुल्न सक्छ। तर सरकार र प्रहरीले चाहनुपर्‍यो,’ नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले भने, ‘हामीले अध्ययन गर्न जाँदा धेरै रहस्य देख्यौँ। योजनाबद्ध किसिमबाट केही महत्वपूर्ण सरकारी भवन जलाइएको देखिन्छ।’ जेनजी आन्दोलनपछि जलाइएका तथा तोडफोड गरिएका सरकारी भवनहरूको अध्ययन तथा अवलोकन गर्न सहरी विकास मन्त्रालयमातहतको सहरी विकास तथा भवन निर्माण विभाग र नेपाल इन्जिनियर्स एसोसिएसनले संयुक्त टोली बनाएको थियो। सोही टोलीले प्रतिवेदनसमेत तयार गरिसकेको छ। टोलीले राष्ट्रिय योजना आयोगलगायत विभिन्न ठाउँमा प्रतिवेदन बुझाइसकेको छ। बराल उक्त टोलीमै सहभागी छन्।

‘सर्वोच्च अदालतको भवन हेर्न जाँदा हामी चकित पर्‍यौँ। सुरुमा छानीछानी महत्वपूर्ण कागजात जलाइएका छन्। अदालतभित्र राखिएका कम्प्युटरमा खासै तोडफोड गरिएको जस्तो देखिन्न तर छानीछानी हार्डडिक्स झिकिएका छन्। महत्वपूर्ण कागजात भएका कोठाहरू पूर्ण रूपमा जलाइएका छन्।’ उनका अनुसार काठमाडौं जिल्ला अदालत रहेको भवनमा पनि यस्तै अवस्था देखिएको छ। ‘काठमाडौं जिल्ला अदालतमा सबै मिसिल, फाइल तथा कागजातहरू भवनको अन्डर ग्राउन्ड (जमिन मुनि कोठा) मा राखिएका रहेछन् तर आन्दोलनकारीहरू सुरुमै अन्डरग्राउन्ड गएको देखिएको छ। सामान्यता मान्छेहरू अन्डरग्राउन्डमा जान्नन्। त्यसबारे सबै थाहा पाएका व्यक्तिहरू नै जिल्ला अदालत जलाउन गएको देखिन्छ।’

उनका अनुसार सिंहदरबारमा पनि यस्तै स्थिति छ। सहरी विकास मन्त्रालयमा कार्यरत एक इन्जिनियरले भने, ‘२०७२ सालको भूकम्पपछि सिंहदरबारको पुनर्निर्माण निकै बलियो किसिमबाट गरिएको थियो। सामान्य व्यक्तिहरूलाई सिंहदबार जलाउन निकै कठिन छ। किनभने हम्मेसी सिंहदबार जल्दैन। भवन जलाउने विषयमा ज्ञान लिएका केही व्यक्तिसमेत आगजनीमा सहभागी भएका हुन सक्छन्।’ उनका अनुसार सिंहदबार जलाउन केही व्यक्ति बोतलमा पेट्रोल तथा अत्यन्त प्रज्वलनशील पदार्थ लिएर योजनाबद्ध किसिमबाट गएको देखिन्छ। उनले भने, ‘यो धेरै गम्भीर विषय हो। किनभने आन्दोलनकारीहरूले सुरुमा छानीछानी महत्वपूर्ण कागजात भएका कोठामा जलाएको देखिन्छ।’ उनीहरूले सुरुमा सिंहदरबारको बैठक कोठा जलाएको अनुमान गर्न सकिने उनको भनाइ छ। बैठक कोठामा अत्यन्त महत्वपूर्ण कागजातहरू हुन्छन्।

जेनजी आन्दोलनको तीन दिनसम्म सिंहदरबार जलिरह्यो। त्यसबाट सिंहदबार झनै जीर्ण बन्यो। आन्दोलनको भोलिपल्टै दमकलबाट आगो निभाएको भए यो स्थिति नआउने इन्जिनियरहरूको निष्कर्ष रहेको छ। यद्यपि अझै पनि सिंहदबार पुनर्निर्माण गर्न जगैबाट भत्काउनुपर्ने इन्जिनियरहरूको भनाइ छ। यस विषयमा विस्तृत अध्ययन गर्नुपर्ने उनीहरू बताउँछन्। यसअघि सिंहदरबार दुई पटक ढलिसकेको छ। २०३० सालमा सिंहदरबारमा आगलागी भएको थियो। यसैगरी २०७२ सालको भूकम्पले सिंहदरबारमा क्षति पुर्‍याएको थियो। तर यसपटक भने सिंहदरबारमा निकै ठुलो क्षति पुगेको इन्जिनियरहरूको भनाइ छ। nagariknews.com

Leave a Comment