---Advertisement---

मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि …

By रासस
On: October 14, 2025 4:49 PM
Follow Us:

कालिका नगरपालिका–६ सिमलघारी टोलमा सोमबार मध्यराति प्रहरीले लगाउने जस्तै पोसाक लगाएर चोर्न आएको पाइएको छ। घरधनीसँग जम्काभेट भएपछि निजहरुले आफूहरू प्रहरी भएको र फरार कैदीबन्दी खोज्न आएको भन्दै उम्किएका थिए। घटना विवरणअनुसार नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव राधेश्याम खतिवडाको घरमा उनीहरू चोरी गर्न आएका थिए। त्यसक्रममा उनीहरूले आफूहरू प्रहरी हौं भन्दै उम्किएका थिए । 

‘नजिकै रहेको काकाको घरमा क्रिकेट हेर्ने निधो भएपछि ढोका बन्द गर्न लागाएर बाहिरको बत्ती बालेर दाजुभाइ गयौं। रातको १२ बजे खेल सकिएपछि काकाको घरबाट घर फर्किंदा सडक पोलको बत्ती निभेको पाइयो। घरअगाडि बालेको बत्ती पनि बन्द गरेको पाइयो । बत्ती बन्द गरिएकामा शंका लाग्यो,’ उनले भने।

‘मेरो घरबाट चार घर पर अँधेरोमा केही चीज रोकेर राखेकोसम्म आँखा पुग्यो। जब आफ्नो घरअगाडि सडकमा पुगेँ अँध्यारोमा एक अपरिचित युवा मेरो घरको बरण्डाबाट आँगनमा निस्किए,’ घटना विवरण सुनाउँदै उनले भने, ‘एक्कासि नयाँ मान्छे देख्दा म आत्तिए। चोर! भन्ने सम्झे। तर बोल्न सकिनँ।’ ती व्यक्तिले यहाँ कारागारबाट भागेको कैदी लुकेको छ रे कहाँ छ? भन्दै प्रश्न सोधेपछि आफू आत्तिएर काकाको घरतर्फ गएको खतिवडाले बताए। 

भाइ विवेक खतिवडा र आफू पुनः घरमा फर्किंदा ती व्यक्ति अगाडि मोटरसाइकलमा रहेका अर्का व्यक्तिसम्म पुगेको उनले बताए। निजहरूले दाजुभाइलाई आफूहरू प्रहरी भएको र लोकेसनले फरार कैदीबन्दी यहाँ देखाएकाले खोज्दै आएको भनेका थिए। घर आउँदा मोटरसाइकल राखेको ठाउँबाट अलि पर सारेको, जुत्ता, हेलमेट सडक किनारमा लगेर राखेको, झ्यालको पल्ला खोलेको पाएपछि बल्ल उनीहरू चोर हुन भन्ने यकिन भएको खतिवडाले बताए।

Laxmi bank

राति नै प्रहरीलाई खबर गरी घटनाका विवरण सुनाएको उनले जानकारी दिए। मोटरसाइकलमा रहेका व्यक्तिले हतियारजस्तो बस्तु समेत बोकेको देखेको खतिवडाले बताए। उनका अनुसार नजिकै रहेको काका कालिदास खतिवडाको घरबाट पल्सर मोटरसाइकल राति नै चोरी भएको छ। उनीहरू बत्ती निभाएर चोर्ने नियतले घरमा पसेको र जम्काभेट भएपछि आफूहरुलाई प्रहरी बताउँदै उम्किएको खतिवडाले बताए। 

Ncell

इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरीक्षक सुवास भट्टले घटनाको जानकारी पाएसँगै राति प्रहरी परिचालन भएको र घटनाको अध्ययन थालिएको बताए। उनीहरु प्रहरी नभएको भन्दै चोरी गर्ने नियतले आएको हुन सक्ने उनले बताए। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द पुरीले फरार कैदीबन्दी पनि हुन सक्ने आशंकाबीच सोही कोणबाट समेत अनुसन्धान थालिएको बताए। उनले भने, ‘यसै भन्न सकिन्नँ, तर सबै कोणबाट अध्ययन थालेका छौं।’ चितवनसहित देशका धेरै कारागारबाट ठूलो संख्यामा कैदीबन्दी फरार रहेका छन्। 

रासस

Leave a Comment