ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको सुपर सिक्समा कतारमाथि ५ रनको रोमाञ्चक जित निकाल्दै नेपाल विश्वकपको ढोकैमा पुगेको छ।
सोमबार राति अल अमेरात क्रिकेट ग्राउन्डमा भएको खेलमा कप्तान रोहित पौडेलको अर्धशतक र सन्दीप लामिछानेको घातक बलिङ प्रदर्शनको मद्दतले नेपालले प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राख्दै विश्वकप खेल्ने सम्भावनालाई झनै बलियो बनाएको हो।
यो जितसँगै नेपालले अब बुधबार हुने आयोजक ओमानविरुद्धको खेल जितेमा औपचारिक रूपमा २०२६ मा हुने टी-२० विश्वकपका लागि छनोट हुनेछ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले खराब सुरुवात गरेको थियो। ओपनरहरू कुशल भुर्तेल र आसिफ शेख सस्तैमा आउट हुँदा नेपालले २५ रनमा २ महत्त्वपूर्ण विकेट गुमाइसकेको थियो।
संकटको अवस्थामा ब्याटिङ सम्हाल्न आएका कप्तान रोहित पौडेलले जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै अर्धशतकीय पारी खेले। उनले उपकप्तान दीपेन्द्रसिंह ऐरीसँग मिलेर तेस्रो विकेटका लागि ६२ रनको महत्त्वपूर्ण साझेदारी गर्दै नेपालको पारीलाई सम्मानजनक अवस्थामा पुर्याए।
पौडेलले ४१ बलमा ७ चौका र १ छक्कासहित ५८ रन बनाए भने दीपेन्द्रले २६ रनको योगदान दिए। अन्तिम ओभरहरूमा तीव्र गतिमा रन जोड्ने प्रयासमा नेपालले लगातार विकेट गुमायो र निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रनको मध्यम योगफल तयार पार्यो।
१४८ रनको लक्ष्य पछ्याएको कतारले उत्कृष्ट सुरुवात गर्यो। कतारका ओपनर द्वयले पहिलो विकेटका लागि ७९ रनको सानदार साझेदारी गर्दै नेपाललाई चर्को दबाबमा राखेका थिए।
एक समय खेल लगभग नेपालको हातबाट फुत्किसकेको जस्तो देखिएको थियो। तर, अनुभवी लेग स्पिनर सन्दीप लामिछाने बलिङमा आएपछि खेलको समीकरण बदलियो।
लामिछानेले आफ्नो जादुयी बलिङले कतारी ब्याटिङ लाइनअपलाई ध्वस्त पारे। उनले ३.५ ओभरमा मात्र १८ रन खर्चेर ५ महत्त्वपूर्ण विकेट लिए।
उनले खतरनाक बनिरहेको साझेदारी तोड्दै नेपाललाई खेलमा फर्काएका थिए। कतारले अन्तिमसम्म सङ्घर्ष गरे पनि निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन मात्र बनाउन सक्यो र नेपाल ५ रनले विजयी भयो।
खेलपछि कप्तान रोहित पौडेलले कतारविरुद्धको खेल निकै कठिन भएको स्वीकार गरे। उनले भने, ‘कतारविरुद्धको खेल एकदमै टफ लाग्यो मलाई, खेलमा कतार निकै अघि गइसकेको थियो। तर टोलीका हरेक खेलाडीले आफ्नो भूमिका महत्त्वपूर्ण रूपमा निर्वाह गरे। सबैले एकजुट भएर खेलेका कारण नै हामीले यो कठिन खेल जित्यौँ।’
उत्कृष्ट बलिङ प्रदर्शन गरेका सन्दीप लामिछानेले पनि टोलीको एकतालाई जितको श्रेय दिए। ‘हामीलाई एक विकेटको सख्त आवश्यकता थियो, जुन तरिकाले टोली एकजुट भएर खेल्यौँ र सबै खेलाडीले आ-आफ्नो भूमिका निर्वाह गरे, त्यसैको परिणाम स्वरूप हामी कतारमाथि विजयी भयौँ,’ उनले सुनाए।
समूह चरणमा अपराजित रहँदै सुपर सिक्समा प्रवेश गरेको नेपालले यसअघि सुपर सिक्सको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई पनि १ रनको साँघुरो अन्तरले पराजित गरेको थियो। लगातार दुई रोमाञ्चक जितले टोलीको मनोबल उच्च बनाएको छ।
नेपाल समग्रमा तेस्रो पटक र लगातार दोस्रो पटक विश्वकप खेल्ने लक्ष्यका साथ ओमान पुगेको हो। २०१४ मा पहिलो पटक विश्वकप खेलेको एक दशकपछि २०२४ मा दोस्रो पटक स्थान बनाएको नेपाली टोली यसपटक कुनै अन्तरविना लगातार विश्वकपमा छनोट भएर इतिहास रच्न चाहन्छ।
जारी छनोट प्रतियोगितामा नेपाल र ओमानलाई उपाधिको प्रमुख दाबेदारको रूपमा हेरिएको छ। दुवै टोली हालसम्म अपराजित छन्। सुपर सिक्सको अङ्क तालिकामा ओमान ६ अङ्कसहित शीर्ष स्थानमा छ भने समान ६ अङ्क भए पनि नेट रनरेटका आधारमा नेपाल दोस्रो स्थानमा छ।
अब बुधबार हुने नेपाल र ओमानबीचको खेललाई प्रतियोगिताको ‘भर्चुअल फाइनल’ को रूपमा हेरिएको छ। यो खेल जित्ने टोलीले सोझै विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछ।
कप्तान पौडेलले ओमानसँगको खेललाई ‘गर या मर’ को अवस्थाको रूपमा लिएको बताए।
‘ओमानसँगको खेल दुवै टोलीका लागि फाइनल सरह हुनेछ, किनभने दुवै टोलीको समान अङ्क छ,’ उनले भने, ‘टोली एकदमै उत्साहित छ। हाम्रो लक्ष्य ओमानलाई हराएर उपाधि जित्दै विश्वकपमा छनोट हुनु हो।’ nagariknews.com