---Advertisement---

नेपाल तेस्रो पटक आईसीसी टी–२० विश्वकपमा छनोट 

On: October 15, 2025 8:08 PM
Follow Us:

नेपाल आईसीसी टी–२० विश्वकपमा छनोट भएको छ।

आज भएको सुपर सिक्सअन्तर्गतको खेलमा युएईले समोआलाई ७७ रनले हराएसँगै नेपाल दुई खेल खेल्न बाँकी छँदै टी–२० विश्वकपमा छनौट भएको हो।

नेपाल लगतार दोस्रो तथा समग्रमा तेस्रोपटक विश्वकपमा पुगेको हो। यसअघि नेपालले सन् २०१४ र २०२४ मा विश्वकप खेलेको थियो। जितका लागि युएईले दिएको २२६ रनको विशाल लक्ष्य पछ्याएको समोआले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५० रन मात्र बनाउन सक्यो। समोआका लागि बेञ्जामिन मआइल्ताले सर्वाधिक ३९ रन बनाए।

स्यामुअल फ्रेञ्चले २५ रन जोडे। त्यसअघि अलअमीरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको युएईले निर्धारित ओभरमा ४ विकेट गुमाएर २२५ रन बनाएको थियो।

उसका लागि आलिसान सराफुले सर्वाधिक ८६ रनको योगदान गरे। राहुल चोपराले ६२ तथा हर्षित कौशिकले अविजित ४४ रन बनाएका थिए। युएईको जितले नेपलसंगै ओमान पनि विश्वकपमा पुगेको छ।

सुपर सिक्सअन्तर्गको खेलमा अहिले केही बेरपछि नेपालले घरेलु टोली ओमानको सामना गर्दै छ। खेल नेपाली समयअनुसार राति ८ः४५ बजे सुरु हुनेछ। जारी प्रतियोगितामा दुवै टोली अपराजित छन्।

समान ६–६ अंकसहित ओमान शीर्ष स्थानमा र नेपाल दोस्रो स्थानमा रहेको छ। आजको भिडन्तले अंक तालिकाको अग्रता टुङ्ग्याउने सम्भावना भएकाले खेल निकै रोमाञ्चक र निर्णायक हुने अपेक्षा गरिएको छ।

विश्वकपमा छनोट भइकेका दुवै टोली प्रतियोगिताको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रदै छन्। आजै भएको पहिलो खेलमा कतारले जापानलाई ३ विकेटले पराजित गरेको छ।

नेपालले सुपर सिक्स चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार समोआसँग खेल्नेछ। टी–२० विश्वकप सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुँदै छ।

Leave a Comment