हिमाली जिल्ला म्याग्दीमा धार्मिक, ऐतिहासिक र पर्यटकीयकस्थल तथा क्षेत्रहरु थुप्रै रहेका छन् । यहाँ अग्ला हिमालका चुचुराहरु, तरेली परेका डाँडापाखा र पहाड, खोलानाला, भञ्ज्याङ, तालतलैया, झरनालगायत पर्दछन् । यहाँ घुमफिर गरेर रमाउने ठाउँहरु पनि धेरै नै छन् । त्यसैमध्ये एक हो, म्याग्दीको पर्यटकीय क्षेत्र खोप्रालेक पनि ।

पछिल्लो समय म्याग्दीको खोप्रालेक क्षेत्र पर्यटकीय आकर्षणको गन्तव्य बन्दै जान थालेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिखस्थित रहेको पाउद्वार गाउँभन्दा माथिको पर्यटकीय क्षेत्र खोप्रालेकमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढ्दै गएको हो । खोप्रालेकसम्म पुग्ने सडक तथा पदमार्ग निर्माण एवं आकर्षक दृश्यावलोकन गर्न पाइने हुँदा पर्यटकहरुको आकर्षण बढेको छ ।

खोप्रालेकसम्म पुग्न सहज पदमार्ग, खान र बस्नको लागि सामुदायिक लज तथा दृश्यहरु अवलोकन गर्ने भ्यू–प्वाइन्ट र पर्यटकलक्षित संरचनाहरु निर्माण भएपछि म्याग्दीको खोप्रालेक आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा परेको छ । पर्यटकीय क्षेत्र खोप्रालेकमा आन्तरिक पर्यटकहरुभन्दा पनि बाह्य पर्यटकहरु धेरै पुग्ने गरेका छन् । समुन्द्री सतहदेखि ३ हजार ७ सय मिटरको उचाइमा रहेको खोप्रालेक क्षेत्रबाट आकर्षक र मनोरम दृश्यहरुको धित मरुन्जेल अवलोकन गर्न सकिन्छ ।

यहाँबाट संसारको सातौं अग्लो चुचुरो धौलागिरि हिमालसहित अन्नपूर्ण, निलगिरी, मानापाथी, बराहशिखर, टुकुचेसहित धौलागिरि र अन्नपूर्ण रेञ्जमा पर्ने सबै हिमालहरु आँख्खै अगाडि देखिन्छन् । खोप्राको विशेषता भनेको नजिकैबाट हिमालहरुको अवलोकन गर्न सकिने, हरिया डाँडाकाँडाहरु थुप्रै देख्न सकिन्छ भने खोप्रालेकको भ्रमणमा आउने पर्यटकहरुले चौंरीपालन तथा भेडापालनको समेत अवलोकन गर्न सक्ने पाउद्वार पर्यटन सहकारी संस्थाद्वारा खोप्रालेकमा सञ्चालित सामुदायिक लजका म्यानेजर आदेश तिलिजाले जानकारी दिनुभयो । उहाँका अनुसार खोप्रालेकभन्दा केही तलबाट संसारको गहिरो अन्धगल्छीको पनि अवलोकन गर्न सकिन्छ ।

खोप्रालेक पुगेपछि नजिकैबाट हिमालको दृश्य हेर्न पाउनुका साथै हिमालसँगै मितेरी लगाउन पाइन्छ । यहाँको हिमाली र ग्रामीण सौन्दर्यमा मनलाई धित मरुन्जेल भुलाउन सकिन्छ । हिउँदको समयमा हिउँ खेल्न र वसन्त ऋतुमा लालीगुराँससँगै रमाउन पाउनुका साथै बहुमूल्य जडिबुटीहरु पाइनु खोप्रालेकका थप विशेषताहरु हुन् । हिमालसँगै खोप्रालेकबाट पर्यटकीयस्थलहरु पुनहिल, घोरेपानी, महरेडाँडा, रुईसे भेडीओढारसहित अन्नपूर्ण गाउँपालिकाको अधिकांश भू–भाग तथा छिमेकी जिल्ला मुस्ताङ र कास्कीको समेत डाँडाकाँडाहरु देखिन्छन् । हिमालको फेदीमा पालिने चौरीगाई र भेडाको दृश्यले पर्यटकहरुको मन जित्नुका साथै आकर्षक दृश्यहरुको अवलोकन गर्न पाइन्छ ।

म्याग्दीको पर्यटकीय क्षेत्र खोप्रालेक आफैमा पनि निकै सुन्दर, आकर्षक र मनमोहक छ । मौसम खुलेको समयमा आँखामै ठोक्किने गरी हिमालहरु देखिन्छन् । यहाँ पुग्ने जो कोही वा पर्यटकहरु पनि मज्जाले रमाउन सक्छन् । खोप्रालेक क्षेत्रको भ्रमणमा पुग्नुभएकी आन्तरिक पर्यटक मनिसा पौडेलले भन्नुभयो, ‘खोप्रालेक एकदमै राम्रो लाग्यो । यहाँबाट अन्नपूर्ण गाउँपालिका लगभग सबै देखिनेरहेछ, साथै धौलागिरि र अन्नपूर्ण रेञ्जमा पर्ने हिमालहरु समेत सबै देखिने अनि पदमार्ग र यहाँको हावापानी पनि एकदमै राम्रो लाग्यो ।’ पहिलोपटक खोप्रालेकको भ्रमणमा पुग्नुभएकी पौडेलले अरुलाई पनि खोप्राको भ्रमणमा जान सुझाव दिनुभयो ।

लामो समय पदयात्रा गरेर खोप्रालेक पुग्नुपर्ने भएकाले आन्तरिकभन्दा बाह्य पर्यटकहरु धेरै सङ्ख्यामा जाने गरेको पाइन्छ । खोप्रालेक क्षेत्रमा पाउद्वारका स्थानीय किसानहरुले वर्षौंदेखि व्यावसायिक रुपमा चौंरीगाई र भेडापालन गर्दै आइरहेका छन् । उनीहरुको आम्दानीको मुख्य स्रोत भनेको चौंरी र भेडापालन रहेको छ । खोप्रालेकमा स्थानीयवासीले सञ्चालन गरेको सामुदायिक लजमा एक रातमा करिब १ सयजना भन्दा धेरै पर्यटकहरु अटाउँछन् । खोप्राको भ्रमणमा ईन्डिया, फ्रान्स, ईजरायल, युके, अमेरिकालगायत विदेशी देशका पर्यटकहरु पुग्ने गरेका छन् ।

खोप्रालेकभन्दा माथि ४ हजार ७ सय मिटरको उचाइमा प्रसिद्ध खयरबराहताल र मन्दिर रहेको छ । अन्नपूर्ण हिमालको दक्षिणतर्फ फेदीमा अवस्थित यस ताल तथा मन्दिरको दर्शन र पूजाअर्चना गर्नका लागि हरेक वर्ष जनैपूर्णिमाको पर्वमा यहाँ विशेष मेला लाग्ने गर्दछ । बेलुका खोप्रालेकमा पुगेर बास बसेका पर्यटकहरु बिहानको दृश्यावलोकनसहित खयरबराहताल पुगेर दर्शन तथा पूजा गरेर पुनः खोप्रालेक फर्किने गरेका छन् ।




