फोटो :धौलागिरि चक्रीय पदयात्रामा पर्यटक हराएपछि धम्पुस लेकमा खोजी गर्न गएका पथप्रर्दशकको टोली ।
संसारको सातौँ अग्लो अग्लो धौलागिरि हिमालको आधार क्षेत्र हुदै मुस्ताङ आउने क्रममा हराएका पर्यटक र पथप्रर्दशक मुस्ताङको घरपझोङ गाउँपालिका–३, स्थित स्याङमा भेटिएका छन् । म्याग्दीको धौलागिरी पदमार्ग हुदै थासाङ गाउँपालिका–१ मा अवस्थित धम्पुस लेकको रूटमा आउनुपर्ने ३२ बर्षिया जर्मनी पर्यटक दामिनो डेल्फाप्लो सहित पथप्रर्दशक आस माने राईलाई सदरमुकाम जोमसोम नजिकैको स्याङ गाउँमा भेटिएको मुस्ताङकी प्रहरी नायव उपरीक्षक छिरिङ किप्पा लामाले बताउनुभयो ।प्रनाउ लामाले भन्नुभयो,‘‘दुबै जनाको स्वास्थ्य अवस्था राम्रो छ, उहाँहरूले बाटो बिराउनुभएको रहेछ ।’’
पदमार्गमा पर्यटक सहित गएका भरियाहरूले हराएको सूचना दिएपछि काठमाण्डौको झापासीमा रहेको इन्जोय नेपाल ट्रेक्सले हेली एभरेष्टमार्फत शुक्रबार पदमार्ग आसपासका क्षेत्रमा खोजीकार्य गरेको थियो । हराएका पर्यटक खोज्न जानुभएका सेभेन समिट ट्रेक्सका प्रतिनिधि इन्द्रसिङ शेरचनले सकुशल भेटिएपछि मध्यरातमा खोजीकार्य स्थगित गरिएको बताउनुभयो ।
करिब १९ दिन अगाडी धौलागिरि चक्रीय पदयात्रामा निस्किएका जर्मनी पर्यटकको स्वास्थ्यमा कुनै समस्या नभएकाले आइतबार नै जोमसोमबाट फर्किने इन्जोय नेपाल ट्रेक्सका म्यानेजर भुपाल राईले बताउनुभयो ।यस पदमार्गमा म्याग्दी खण्डबाट निस्किएका पर्यटक मुस्ताङ प्रवेश गर्न करिब दुई साताभन्दा बढी लाग्छ । म्याग्दी र मुस्ताङ जोड्ने लामो र सहासिक पदयात्राका लागि विदेशी पर्यटकले धौलागिरि चक्रीय पदमार्ग रोज्ने गरेपनि भौगोलिक विकटता, प्रयाप्त पूर्वाधार, संकेत चिन्ह लगायतका न्यूनतम पूर्वाधार नहुदाँ पर्यटक सम्पर्कविहिन हुने गरेका छन् ।