म्याग्दीको मंगला गाउँपालिका बरंजाका माओवादी पूर्वलडाकु डायमन्ड सी रुसी सेनाको सेक्सन कमान्डरमा बढुवा हुनुभएको छ । तत्कालीन माओवादीका पूर्वलडाकु समेत रहनुभएका ‘डायमन्ड सी’ रुसी सेनामा बढुवा भएको आइतबार सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । रुस–युक्रेन युद्ध सुरु भएपछि भर्ती हुन पुग्नुभएका डायमन्डजनयुद्धमा सहभागी हुँदा अधुरा रहेका सपना अहिले पूरा भएको बताउनुभयो ।

१६ वर्षकै उमेरमा जनयुद्धमा सामेल भएपछि विभिन्न भिडन्तमा सहभागि डायमन्डले जनयुद्धकै क्रममा माओवादी लडाकु प्रेरणा सिर्पालीसँग जनवादी विवाह गर्नुभएको छ । जनमुक्ति सेनाको बटालिएर सहकमान्डर बनेपछि उहाँले शान्ति प्रक्रियापश्चात २०६८ मा स्वेच्छिक अवकाश लिएर राजनीतिक मोर्चामा जोडिनुभएको थियो ।

‘कहिलेकाहीँ जिवनमा देखेको सपना पूरा हुन्न बरु नदेखेको सपना पूरा हुन्छ,’ फेसबुकमा लेख्नुभएको छ । ‘जनयुद्धमा सहभागी हुँदा देखेका कैयन सपना अधुरै रह्यो, ती अधुरो सपनाकैबीच रुसको पक्षवाट रुस–युक्रेन युद्धको एक हिस्सेदार बन्ने कठोर निर्णय गरियो।

भिषण युद्धकोबीच आफ्नै जीवनको कुनै ग्यारेन्टी नहुने परिस्थितिमासमेत सुरुमा रसियन सेनाको जुनियर सर्जेन्ट अर्थात सेक्सन सह–कमाण्डर र पछिल्लोपटक सर्जेन्ट अर्थात सेक्सन कमाण्डरको रुपमा अग्रमोर्चामा खटेर प्राइमरी एसल्ट सेक्सनलाई कमाण्ड गर्ने विषय सहज त थिएन नै, यद्यपि युद्धकालिन समयको माग अनुसार जिम्मेवारी पूरा गर्नै पर्ने रहेछ।’ रुस–युक्रेन युद्धमा रुसको तर्फबाट लडिरहेको र आफ्नो जीवनको कुनै ग्यारेन्टी नभएको बताउँदै रुसी फौजमा गएर बढुवा भएको कुरालाई नदेखेको सपना पूरा भएको भन्दै खुसी ब्यक्त गर्नुभयो ।

रुसी सेनामा भर्ती हुँदा जुनियर सर्जेन्ट अर्थात् सेक्सन सह–कमान्डर भएको र अहिले सेक्सन कमान्डरको रूपमा अग्र मोर्चामा खटेर प्राइमरी एसल्ट सेक्सनलाई कमान्ड गर्ने जिम्मेवारीमा रहेको उहाँको भनाई छ। डाउमन्डले जारी यूद्धका बारेमा लेख रचना तथा हालको अवस्थाका बारेमा समेत सामाजिक सञ्जालबाटै जानकारी गराउने गर्नुहुन्छ ।
हरिकृष्ण गौतम