६ दिनदेखि बेपत्ता म्याग्दीको बेनी नगरपालिका–६,जामुनाखर्कमा बेपत्ता ९५ बर्षिय बृद्धा स्यानीमायाँ खत्रीको खोजीकार्यमा सोमबार तालिमप्राप्त कुकुरको प्रयोग गरिएपनि पत्ता लगाउन सकिएन् । बेपत्ता भएको दिनदेखि खोजी गर्न थालेपनि अत्तोपत्तो नभएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीले गण्डकी प्रदेश कार्यालय पोखराबाट तालिमप्राप्त कुकुर झिकाएर गाउँमा खोजीकार्य गरेपनि कुनै ‘क्लु’ फेला पार्न असफल भएको हो ।

सोमबार दिउँसो विज्ञ टोली सहित पोखराबाट कुकुर स’हित आएको टोलीले बृद्धा खत्रीको घर तथा सहित सम्भावित क्षेत्रमा खोजीकार्य गरेपनि केही पत्ता लगाउन नसकेको प्रहरी निरीक्षक सागर पौडेलले बेनीअनलाइनलाई जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक गोविन्द सुबेदी,सर्च एण्ड रेस्क्यु तालिम प्राप्त कुकुर लिएर बेपत्ता महिलाको खोजीकार्यमा खटिनुभएको थियो ।

राम्रोसँग हिड्न नसक्ने बृद्धा सम्पर्कविहिन भएको असोज २९ गतेका दिन दिउँसो साढे २ बजेसम्म गाउँमा देखिएको र करिब ४ बजे आसपासबाट खोजीकार्य गरिएको थियो । प्रहरी सहित स्थानीय समुदायले समेत खोजी गर्दा पनि पत्ता नलागेपछि टोली फर्किएको छ । प्रहरीले बेपत्ता बृद्धाको खोजीकार्य जारी रहेको जनाएको छ ।