म्याग्दीका उत्पादन हुने हस्तकला र अर्गानिक बस्तुलाई बङ्गलादेशमा लैजान सकिने नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद सापिकुर रहमानले बताएका छन् । मंगलबार म्याग्दी उद्योग वाणिज्य संघले अयाोजना गरेको स्वागत कार्यक्रममा राजदुत रहमानले नेपालसँगको पूरानो सम्बन्धलाई पहाडी जिल्लाहरुसम्म विस्तार गर्न सकिने धारणा राखेका थिए । कार्यक्रममा राजदूत रहमानले नेपाल र बङ्गलादेशबीच व्यापारिक, सांस्कृतिक तथा पर्यटन क्षेत्रका सम्बन्धहरू अझ प्रगाढ बनाउन म्याग्दीको भूमिका महत्वपूर्ण हुने बताएका थिए।

राजदुत रहमानले म्याग्दीको प्राकृतिक सौन्दर्य, सम्भावित जलविद्युत्, कृषि तथा पर्यटन क्षेत्रबारे उच्च प्रशंसा गर्दै आपसी सहकार्यका माध्यमबाट दुवै देशका नागरिक लाभान्वित हुन सक्ने विश्वास व्यक्त गरेका थिए । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले नेपाल र बंगलादेश बिचको सम्बन्ध पूरानो भएको बताउँदै जलविद्युत सहित हस्तकला, पेन्टिङ, अर्गानिक बस्तुहरूलाई बंगलादेशमा बिक्री गर्न तयार रहेको बताएका थिए ।

उनले बङ्गलादेशको निजी क्षेत्रसँग सहकार्य गरी जिल्लाको पर्यटन, कृषि र उद्यमशिलतामा सहकार्य गर्न तयार रहेको बताए । स्वागत तथा सम्मान कार्यक्रममा संघका पूर्व अध्यक्षहरू,पदाधिकारी तथा स्थानीय उद्योगी व्यवसायीहरूको उपस्थिति रहेको थियो ।कार्यक्रममा राजदूतलाई म्याग्दी उद्योग वाणिज्य संघको तर्फबाट म्याग्दीको पहिचान झल्काउने उपहार प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालक संघका सचिव बाबुराम आचार्यले गरेका थिए । राजदुत सहितको टोलीले संघद्धारा सञ्चालित कालिपुलको सूचना केन्द्र र कोशेली घरको समेत अवलोकन गरेका थिए ।
