म्याग्दी प्रवासी नेपाली संघ मोना पोर्चुगलले तिहारको अवसरमा लिस्बनमा शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ ।

पोर्चुगलमा रहेका म्याग्देली तथा नेपाली समुदायमाझ देउसीभैलो मार्फत नेपाली चाडपर्व र संस्कृतिको जर्गेना गर्ने उदेश्यले आयोजित देउसी भैलोबाट करिब ५ लाख नेपाली संकलन भएको छ । मोना पोर्चुगलमार्फत संस्थागत तथा सामाजिक कार्य गर्ने उदेश्यले आयोजित देउसी भैलो कार्यक्रमा मोना अन्तराष्ट्रियका प्रबक्ता लोकराज रोका मगरको प्रमुख आथित्यतामा सञ्चालन भएको थियो ।

देउसीभैलोबाट संकलित आर्थिक संकलन खर्च घटाएर बचत आपतकालिन कोषमा जम्मा गरी अन्य विभिन्न सामाजिक तथा विपद्जन्य कार्यमा खर्च गरिने महासचिव कृष्ण मल्लले बताउनुभयो । देउसीभैलोलाई समय अभाव भएपनि विभिन्न क्षेत्रबाट भएको प्रतिबद्धता अनुसार सहयोग संकलन बढ्ने महासचिव मल्लले बताउनुभयो ।

देउसीभैलोमार्फत म्याग्देलीको एकता र सहकार्यसँगै मोनालाई समेत बलियो बनाउने मोनाका पोर्तुगलका अध्यक्ष तिलक पुनले बताउनुभयो । मोना पोर्चुगलले म्याग्देलीलाई मोनामा आवद्ध भएर रचनात्मक कार्यमा सहभागिता जनाउन समेत अनुरोध गरेको छ ।


