तिहारलाई दिदीभाइ तथा दाजुबहिनी बिच प्रेम र आत्मीयता बढाउने पर्वका रूपमा चिनिने गरिन्छ। भाइटीकाका बेला दिदीबहिनीले दाजुभाइलाई दिने आर्शिवाद अझ महत्वपूर्ण मानिन्छ । त्यसैले एकअर्काबाट जति नै टाढा भएपनि भाइटीकाका बेला भने दिदीबहिनी दाजुभाईहरु जमघट हुने कोसिस गर्दछन्। तर,अभिभावकलाई कलिलै उमेरमा छोडेर गएका बालबालिकाको घरमा दिदीबहिनी समेत छैनन् । साहराविहिन बालबालिका बस्ने बालगृहका बालबालिकाले भने बालगृहभित्रै दिदीबहिनी, दाजुभाई बनाएर भाईटिका लगाउने गरेका छन् ।
दशैंमा मान्यजन र तिहारमा दिदीबहिनीको हातबाट टिका लगाउने, आशिष थाप्ने, विशेष गरि ठूला र सानाबिचको प्रेम र आत्मीयता बढाउने नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित म्याग्दी बालगृहका बालबालबालिका अग्रसर छन् । दशैंतिहार जस्ता ठूला पर्वमा परिवार र आफन्तको सम्झना नहोस् भनेर बालगृहका बालबालिकालाई सामुहिक टिका र मिठो खुलाउने गरिन्छ।यसबर्षको भाईटिकामा पनि बालगृहका बालबालिकाले सामुहिक टिका लगाए । बालगृह भित्र हसिलो अनुहारमा टिका थाप्दै गरेका बालबालिकाले एउटा ठूलो परिवारभित्रको बसाई निकै सुखमय रहेको छ ।

बाल संगठनका अध्यक्ष राजेश शाक्यको उपस्थितीमा बालबालिकाले टिका ग्रहण गरेका थिए । ७ जना बालबालिका आश्रीत रहेको बालगृहमा चाडपर्वमा नयाँ लुगा, मिठो खानेकुरा नियमित खानपिन भन्दा फरक गरिने अध्यक्ष शाक्यले बताउनुभयो । बालगृहमा रहेका बालबालिकाहरु बिचको सम्बन्ध दाजुभाई, दिदीबहिनी जस्तै भएकाले सबैले सामुहिक टिका लगाउने गरेको अध्यक्ष शाक्यको भनाई छ । चाडपर्व सहित अन्य समयमा समेत पारिवारिक वातावरण भएकाले बालबालिका समेत निकै उत्साहित छन् ।