उच्च पहाडी तथा हिमाली भेगमो खोज तथा उद्धारलाई प्रभावकारी बनाउन महिला प्रहरीको टोलीले नेपाल र चिनको सिमानसम्म स्थलगत अवलोकन गरेका छन् । हिमाली क्षेत्रमा विपद्को समयमा आकस्मिक उद्धार कार्यमा हावापानीका कारण उद्धारकर्तामा हुने समस्या तथा आकस्मिक उपचारसहित मुस्ताङमा भइरहेको पर्यटक तथा अन्य उद्धारका कार्यको अभ्यास सिक्न जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोली कोरला बोर्डरसम्म पुगेर फर्किएको छ ।

तीन दिनको उत्प्रेरणासहित मुस्ताङको थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड रलोमान्थाङ गाउँपालिकामा रहेको प्रहरी चौकीका कार्यरत प्रहरीसँगको अन्तरक्रियात्मक कार्यसहति जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक छिरिङ किप्पा लामाबाट हिमाली क्षेत्रमा हुने उद्धारमा प्रहरीले खेल्नुपर्ने भूमिकाको विषयमा जानकारी लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीकी मुद्दा फाँटमा कार्यरत प्रहरी जवान जुना विकले बताउनुभयो । विकले भन्नुभयो, ‘‘हिमाली क्षेत्रमा हुने खोज तथा उद्धार र दुर्घटनाको विवरण सङ्कलनका बारेमा राम्रो जानकारी लिने अवसर मिल्यो, भ्रमण निकै उपलब्धीमुलक भयो ।’’
मुस्ताङमा कार्यरत प्रहरी टोलीसँग कार्यक्षेत्रको अनुभव आदान–प्रदानसहित उच्च क्षेत्रमा काम गर्दाको चुनौती तथा अपनाउनुपर्ने सावधानीका बारेमा समेत जानकारी लिएको प्रहरी जवान विकको भनाइ छ ।
टोलीमा प्रहरी हबल्दार भविकला आचार्य, प्रहरी सहायक हबल्दार सम्झना नेपाली, प्रहरी जवान ज्योति गिरी, सबिता थापा , जुना बिक, अमृता अथारे, चन्दना थापा र रिमा थापा रहनुभएको थियो ।

महिला प्रहरीको टोलीले समुन्द्रि सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाका, छोसेर र लोमान्थाङ क्षेत्रमा खएिटका प्रहरीसँग ‘हाइ अल्टिच्युडमा काम गर्दाको अनुभव,लेक लागेका पर्यटकलाई उद्धार तथा सचेतनामुलक अभियानका बारेमा लिएको जानकारीलाई कार्यक्षेत्रमा प्रयोग गर्ने प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताउनुभयो । प्रनाउ थापा भन्नुहुन्छ, ‘‘हामीले कार्यक्षेत्रमा कार्यरत जनशक्तिको कार्यक्षमता बढाउन विभिन्न रचनात्मक कार्य गर्ने प्रयासमा छौँ, यसपटक मुस्ताङ पुगेर फर्किएको टोलीलाई उच्च हिमाली क्षेत्रमा खटिदाँ काम गर्न सहज हुने विश्वास गरेको छु ।’’
मुस्ताङ जाने पर्यटकलाई सिमा क्षेत्रमा नै सचेतनामुलक अभियान सञ्चालन गरी लेक लाग्ने समस्या न्यूनिकरणको पहल गर्ने योजनालाई समेत यस स्थलगत अवलोकन भ्रमण तथा अनुभव आदान–प्रदानले सहज हुने बताइएको छ ।
मुस्ताङमा पर्यटक, मजदुरसँगै सरकारी तथा गैरसरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुलाई समेत लेक लाग्ने समस्या हुन्छ । लेक लाग्ने रोग तथा सुरक्षासम्बन्धी प्रशिक्षण र सूचना सम्प्रेषण प्रणालीलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्न मुस्ताङले छिमेकी जिल्लासँग अन्तरजिल्ला समन्वयत्मक बैठक सहितका कार्यहरू गर्ने गरेको छ ।