म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले होटेल बुक गरेर मात्र म्याग्दी र मुस्ताङ घुम्न निस्कन पर्यटकलाई आग्रह गरेका छन् । पर्यटकको चाप अत्याधिक रहेकाले होटेलहरु नपाउने समस्या हुने भन्दै होटेलको सुनिश्चितता गरेर मात्र म्याग्दी र मुस्ताङ निस्कन प्रजिअ तिवारीले आग्रह गरे ।
‘यो समयमा म्याग्दी र मुस्ताङमा पर्यटकको चाप अत्याधिक छ । जसका कारण होटेल नपाएको गुनासो पनि आएको छ । अधिकांश होटेलहरु बुक भैसकेका छन् । घुम्न आउँदा बस्ने ठाउँको सुनिश्चितता गरेर मात्र आउनुहोला,’ उनले भने । म्याग्दी र मुस्ताङका सवै होटल सवै बुक भएकोले यहाँ आउने पर्यटकलाई बस्नको व्यवस्थापन गर्न कठिनाइ भएको छ ।
अहिले मुस्ताङको मार्फा, मुक्तिनाथ, कोरला नाका, म्याग्दीको नर्थ अन्नपूर्ण बेस क्याम्प, तातोपानी जाने पर्यटकको घुइँचो छ । यस्तै मुस्ताङ जादा फोरविल गाडीको प्रयोग गर्न र न्यायो कपडा लगाएर आउन प्रजिअ तिवारीले आग्रह गरे ।
‘केहि ठाउँमा बाटो बन्दै गरेको छ । कतै पहिरो गएर खाल्डाखुल्डी छ । त्यसैले फोरविल गाडीको प्रयोग गर्नुहोला,’ उनले भने, चिसो बढेका न्यानो कपडासहित घुम्न निस्कनुहोला ।’










