म्याग्दीको मंगला गाउँपालिका–४,बुकेनी र धापुङ गाउँ जोड्ने न्यू खोलामाथि बनेको झोलुङ्गे पुल निर्माण भएको छ ।भौगोलिक रुपमा विकट दुई बस्तीका बासिन्दालाई दैनिक आवतजावतमा सहज हुने गरी कुल ५७ लाख १० हजार ८६० रुपैयाँमा निर्मित झोलुङ्गे पुलबाट १ सय ९३ घरधुरीका ९ सय ६५ भन्दाबढी जनसंख्या प्रत्यक्ष लाभान्वित भएका छन् ।

झोलुङ्गे पुलको निर्वतमान प्रतिनिधि सभा सदस्य एवम् पूर्व जलस्रोत तथा सिचाई राज्यमन्त्री खमबहादुर गर्बुजाले सोमबार एक कार्यक्रमबिच उद्घाटन गदैं दुई बस्तीका जनताको भौगोलिक दुरी घटाउन लामो झोलुङ्गे पुलको सर्वे तथा बरंजा क्षेत्रमा जोड्ने सडक सञ्जाल लगायत केही योजनाहरूलाई स्रोत जुटाउने काम भइरहेको बताउनुभयो ।

‘अहिले मेरो भूमिका घटेको भएपनि प्रतिबद्धता अनुसारका कामहरुलाई स्रोत जुटाउन निरन्तर सक्रिय छु,मन्त्रीपरिषद्मा छोटो समय बस्दा पनि देखिने गरी बजेट ल्याएको छु’राज्यमन्त्री गर्बुजाले भन्नुभयो संघीय संसद विघटन सहित अन्तरिम सरकारबाट बजेट ल्याउने वातावरण नभए कांग्रेस नेतृत्वको प्रदेश सरकारबाट भएपनि सम्बोधन गर्ने गर्बुजाको प्रतिबद्धता थियो ।
मंगला गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी अधिकारीले सिमित स्रोतसाधनका बिच पनि बस्तीस्तरमा योजना बिनियोजन तथा लागत साझेदारीमा धेरै योजनाहरु सम्पन्न भएको बताउनुभयो । गाउँपालिकाबाट सडक, खानोपनी, पुल लगायतका अन्य साना योजनाहरुमार्फत समुदायको माग सम्बोधन गरिएको उपाध्यक्ष अधिकारीको भनाई थियो ।

कार्यक्रममा वडा अध्यक्ष लालबहादुर रोकाले बर्खाको समयमा न्यू खोलामाथिको जिर्ण पुलले बर्खाको समयमा बालबालिका, बृद्धबृद्धाका साथै घाँसदाउरा संकलन गर्न जाने स्थानीयलाई समस्या हुने गरेकोमा ९२.५ मिटर लामो झोलुङ्गे पुलले धेरै सहज भएको बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल, मिलन म्याग्दीकी निर्वतमान अध्यक्ष दिलमायाँ विटालुले स्थानीयको आवश्यकता अनुसार निर्मित झोलुङ्गे पुलमा समुदायस्तरबाट गरिएको योगदानको प्रशंसा गर्नुभएको थियो ।

झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप)को आर्थिक तथा साम्रागी, मंगला गाउँपालिकाको लागत साझेदारी तथा स्थानीयबासीको श्रमदानबाट उक्त पुल निर्माण भएको उपभोक्ता समितिकी अध्यक्ष सविता रोकाले जानकारी दिनुभयो ।
पुल निर्माण भएपछि स्थानीयबासीका साथै बागलुङको ताराखोला गाउँपालिकाको सिर्कु, अर्गल, बेनी नगरपालिका–३,भकिम्लीका बासिन्दालाई धेरै सहज भएको छ । झोलुङ्गे पुल उद्घाटन कार्यक्रममा स्थानीयले पञ्चेबाजा सहित सांस्कृति कार्यक्रम गरी स्वागत गरेका थिए ।

झोलुङ्गे पुल निर्माण भएको उपभोक्ता समितिकी अध्यक्ष रोकाको अध्यक्षता,स्वागत चक्रबहादुर रोका र सञ्चालन योगेन्द्रमान शेरचनले गर्नुभएको थियो । यसबर्ष मिलन म्याग्दीको प्राविधिक तथा सामाजिक सहयोगमा बेनी नगरपालिका, मालिका,अन्नपूर्ण गाउँपालिकामा डिपिआर तयार गरिएको छ भने गतबर्ष ५ वटा निर्माण सम्पन्न एक पुलको बृहत मर्मत गरिएको थियो ।












