---Advertisement---

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात, जनजीवन प्रभावित

By उज्यालो
On: October 28, 2025 11:32 AM
Follow Us:

देशका उच्च हिमाली भूभागहरूमा कात्तिकमै हिमपात भएको छ । मुस्ताङ, मनाङ, गोरखा लगायतका विभिन्न ठाउँ हिउँले ढाकिँदा जनजीवन प्रभावित बनेको छ । मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ, कोरलानाका, छोसर र मुक्तिनाथ क्षेत्रमा बिहानैदेखि बाक्लो हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

मुक्तिनाथमा ६ इन्चसम्म हिउँ जमेको र दर्शनार्थीहरूलाई समस्या परेको मुक्तिनाथ विकास समितिले जनाएको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकामा पनि हिमपात भएपछि किसानलाई खेतीपातीका लागि लाभ मिलेको छ । यस्तै वारागुङ मुक्तिक्षेत्रका खिङ्गा, झोङ, फल्याकलगायत गाउँमा बाक्लो हिउँ परेपछि अत्यधिक चिसो बढेको छ । हिउँले जमिनको भित्री तह सिँचाइ हुने भएकाले किसानहरू खुशी भएका छन ।

हिमपातका कारण जोमसोम–मुक्तिनाथ सडकखण्डमा जोखिम बढेपछि स्थानीय प्रशासनले कागबेनीदेखि मुक्तिनाथसम्मको यात्रा नगर्न आग्रह गरेको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका निले, छुले, पाङ्दुन, सामागाउँ, साम्दो, स्याला, ल्होलगायत गाउँमा पनि गएरातिदेखि निरन्तर हिमपात भइरहेको छ ।

हिउँ परेपछि स्थानीयहरू घरभित्रै बसेका छन् भने मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटकहरू सामागाउँ र साम्दोमा रोकिएका छन् । कात्तिकमै परेको यस वर्षको पहिलो हिमपातले एकातिर जनजीवन प्रभावित पारेको छ भने अर्कातिर खेतीबालीका लागि लाभदायक बनेको छ ।
 

उज्यालो

Leave a Comment