---Advertisement---

अन्नपूर्ण बेसक्याम्पमा शुक्रबारसम्म पदयात्राका लागि रोक, हिमपात हुने क्षेत्रमा यात्रा नगर्न अनुरोध

On: October 28, 2025 6:05 PM
Follow Us:

आन्तरिक पर्यटकका लागि म्याग्दीको प्रमुख पर्यटकीय गन्तब्य बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को नारच्याङमा अवस्थित समुद्री सतहदेखि चार हजार १५० मिटर उचाइमा रहेको अन्नपूर्ण बेसक्याम्प क्षेत्रमा बाख्लो हिमपात भएपछि आगामी शुक्रबारसम्मका लागि पदयात्रामा जान रोक लगाइएको छ ।

मौसममा आएको खराबी र हिमपातका कारण अन्नपूर्ण प्रथम आधार शिविर क्षेत्रमा भ्रमणमा गएका पर्यटकलाई सुरक्षित ल्याउँदै थप पर्यटकलाई पदयात्रामा जान रोक लगाइएको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताउनुभयो । ‘पदमार्गमा रोकिएका पर्यटकलाई सहजीकरणका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ, अब मौसम अनुकुल नहुदाँसम्म घुम्न आउनेलाई बाटोमै रोकिन्छ’ प्रजिअ तिवारीले बेनीअनलाइनलाई भन्नुभयो ।

हाल सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक, नेपाल प्रहरी सहित स्थानीय उद्दारकर्मी इन्द्रसिंह शेरचन थकाली सहितको टोली अन्नपूर्ण गाउँपालिकाले समन्वय गरी बेसक्याम्प क्षेत्रमा पठाइएको छ । बेसक्याम्प तथा पदमार्ग क्षेत्रमा हिउँमा खेलिरहेको एक समुहका बारेमा फर्किएका पर्यटकले जानकारी गराएका थिए । हाल बेसक्याम्पस क्षेत्रमा करिब ५० जनाको हाराहारीमा पर्यटक रहेको अनुमान गरिएको छ ।


सञ्चारको सम्पर्क नहुने उक्त क्षेत्रमा पर्यटकलाई सहज हुने गरी स्थानीयबासीले समेत समन्वय गरेका छन् । बेसक्याम्प क्षेत्रमा होटल ब्यवसाय गरिरहेका स्थानीयले समेत पर्यटकलाई सुरक्षित तरिकाले फर्किन सहयोग गरेको फर्किएका पर्यटकको भनाई छ ।

जल तथा मौसम विज्ञान विभागद्वारा जारी मौसम बुलेटिनअनुसार आगामी शुक्रबारसम्म हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना रहेको छ । यसैबीच खोप्रालेक, मोहरेडाँडा, पुनहिल, धौलागिरी बेसक्याम्प, मालिकाधुरी लगायत हिमाली क्षेत्रको भ्रमणमा निस्किएका पर्यटकलाई सुरक्षित भएर बस्न र सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय म्याग्दीले अनुरोध गरेको छ ।

Leave a Comment