---Advertisement---

पर्वतमा आठ प्रजातिका धानबालीको अनुसन्धान

On: October 29, 2025 12:42 PM
Follow Us:

यस वर्ष यहाँ खेती गरिएकामध्ये आठ प्रजातिको धानबालीको मूल बीउ अनुसन्धान गरिएको छ। कुन स्थानमा कुन प्रजातिको धानखेती गर्दा धेरै उत्पादन हुन्छ भन्ने पत्ता लगाउन अनुसन्धान गरिएको हो।  

राष्ट्रिय धान बाली अनुसन्धान केन्द्रले फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको आठ जातका धानमाथि अनुसन्धान गरेको हो। फलेवास नगरपालिका–६ देवीस्थानमा रहेको शक्ति कृषि तथा पशुपन्छी फर्म र नमूना कृषि सहकारीको सहकार्यमा धानका स्थानीय आठ जातको धानको मूल बीउ उत्पादन गरिएको छ।  

पोखरेली जेठोबुढो, रामधान चैते पाँच, हर्दिनाथ, सुख्खा धान, स्थानीय धानको बीउ उत्पादन गरिरहेको छ। अहिले राष्ट्रिय धान अनुसन्धान कार्यालयको सहयोगमा आइआर १६, एल ७०४ र आइआर १६, ए ३७०८, आइआर २२८ एल, आइआर १३÷२०८४, यसभिआइएन ३६८ नयाँ प्रजातिको धानको मूल बीउ अनुसन्धान गरिएको हो।  

यसैबीच, कृषि प्राविधिकमार्फत धानको बीउ परीक्षणपछि बीउ बिक्री गरिने अर्जुन श्रेष्ठले बताए। धानको बीउ र अन्य अन्नबालीको बीउ बिक्रीमा फलेवास नगरपालिकाले सहयोग गर्दै आएको उनले बताए।  

गत वर्ष यस क्षेत्रको धानको बीउ फलेवास नगरपालिका, जैमिनी नगरपालिका, बागलुङ नगरपालिका, कृषि विकास मन्त्रालय गण्डकी प्रदेश, कृषि ज्ञान केन्द्र पर्वतलगायतका सरकारी निकायमा ८ लाख रुपैयाँ बराबरको बिक्री भएको थियो।  

बर्सेनि तापक्रममा भएको वृद्धि, जलवायु परिवर्तन, सिँचाइको अभाव, बाँदर आतङ्कजस्ता कारणले कृषकको धानतर्फको आकर्षण घट्दै गएका बेला केन्द्रले निश्चित प्रजाति पहिचान गरेर सिफारिस गरेपछि धानखेतीतर्फ आकर्षण बढ्ने विश्वास फलेवास नगरपालिकाकी उपप्रमुख शोभा क्षेत्रीले गरेका छन्।  

केन्द्रले यसअघि गत हिउँदमा फलेवास नगरपालिका ६ देवीस्थानका १२ जना किसानको खेतमा गहुँबालीको पनि अनुसन्धान गरेको थियो। रासस

Leave a Comment