अन्नपूर्ण पदमार्गको एउटा रमणीय गन्तव्य घोरेपानी, बिहानको घाम अलिकति माथि उठिसकेको थियो । एकाबिहानै पुनहिल पुगेर सूर्योदय हेरेर फर्किने आन्तरिक तथा बाह्य पर्यटकहरू ओरालो लागेर अर्को नयाँ गन्तव्य समाउने तरखरमा थिए । यही समूहमा भेटिए गोरखाका गोपाल काप्री ।
हातमा लट्ठी, काँधमा झोला र शिर ऊनीको टोपी । यही भेषमा पर्यटकलाई पछि लगाएर उनी हिँड्न थालेको चार दशक बितिसकेछ । सामान्य लेखपढ गरेका गोपाल अंग्रेजी धेरै नजाने पनि थोरै थोरै बोल्छन् । एस, नो को उत्तर दिन्छन् । ‘आज ताडापानी पुग्नुछ,’ केही दिनअघि घोरेपानीमा भेटिएका उनले भने, ‘उमेरले बुढो भए पनि जोस नयाँको जस्तै छ, २५ वर्षको तन्नेरीले जस्तै भारी बोक्न सक्छु, मन त अझै युवा छ ।’
गोरखा आरुघाट गाउँपालिकाका गोपाल काप्री ६३ वर्षका भइसके । उनको जोस र हिँडाइ र भारी बोक्ने क्षमता भर्खरका युवाको भन्दा कम छैन । शरीर हेर्दा के भारी बोक्न सक्छन् होला जस्तो लागे पनि सँगै हिँड्ने पर्यटकले उनलाई भेट्टाउँदैनन् ।

४० वर्षदेखि पर्यटककै भारी बोकेर दैनिकी चलाइरहेका गोपाल काठमाडाैंको नेपाल इन्भारमेन्ट ट्राभल कम्पनीमा काम गर्छन् । उनी अन्नपूर्ण आधार शिविरदेखि सगरमाथा, कञ्चनजंघा आधार शिविरसम्म पर्यटकको झोला बोकेर पुग्छन् । ‘म देशका धेरै पर्यटकीय क्षेत्रमा पुगेको छु, विशेषतः अन्नपूर्ण क्षेत्रमा नै बढी घुम्ने घुमाउने गरेको छु,’ उनले भने, ‘पहिले एक्लै भारी बोकेर पर्यटक घुमाउनुपर्थ्यो अहिले साथमा एउटा भाइ पनि हुनुहुन्छ । मेरो काम भारी बोक्ने हो पर्यटकलाई घुमाउने हो । यसैमा आनन्द लिएको छु ।’
यही पेशाबाट काठमाण्डौँ घर बनाए
गोपालले यही पेसाबाट काठमाडौंको वनस्थलीमा एक तलाको घरसमेत बनाएको सुनाए । ‘यही क्षेत्रमा लागेर परिवार धानेको छु । छोराछोरी पढाउने लेखाउने, हुर्काउने यहीबाट भयो,’ उनले भने, ‘उनीहरूलाई पढाउने हुर्काउने बिहेदान यही पेसाबाट गरेँ, अहिले छोरा पनि यही कम्पनीमा काम गर्छ । सक्ने वेलासम्म भारी बोक्ने हो । यसैमा मलाई आनन्द आउँछ ।’
दुईजना विदेशी पर्यटक र एकजना नेपाली गाइड उनीसँगै थिए । पुरानो र अनुभवी भएका कारण उनीसँग काम गर्न सहज हुने गरेको गाइड रत्नकृष्ण प्रजापति बताउँछन् ।
भक्तपुर ठिमीका प्रजापति पनि यस क्षेत्रमा लागेको लामो समय भयो तर गोपाल दाइसँग हिँड्दा धेरै सहज हुने उनी बताउँछन् । ‘गोपाल दाइसँग धेरै अनुभव छ, धेरै ठाउँमा उहाँ पुग्नुभएको छ, उहाँको जोस र जाँगरले हामीलाई पनि ऊर्जा मिल्छ,’ प्रजापति भन्छन्, ‘उनलाई देखेर पर्यटनहरू पनि छक्क पर्छन्, धेरैले उहाँलाई माया गर्छन्।’
४० वर्षअघि अन्नपूर्ण क्षेत्रमा पर्यटकलाई लिएर जाँदाको क्षण स्मरण गर्दै गोपालले भने, ‘त्यो वेला नक्सासमेत थिएन, मोबाइलको त कुरै भएन । सूर्यको दिशा र नदी र खोलाको बहावले बाटो पहिल्याउनुपर्थ्यो। अहिले त धेरै सजिलो भएको छ । समय फेरिएको छ, नयाँ युग र युगसँग चल्ने प्रयासमा छु । हिजो सगरमाथा आधार शिविरमा धेरै हिँडियो, अहिले अन्नपूर्णको बाटोमा हिँडिरहेको छु। पहिलोपटक बेसक्याम्प पुगेको दिन अझै याद छ,’ उनी सम्झन्छन्, ‘पर्यटक थाकिसकेका रहेछन् । मेरो भने हिमाल देखेर खुले
.0अन्नपूर्ण पदयात्रामा जाँदाका उनीसँग कैयौँ स्मरण छन् । पहिले घान्द्रुक, घोरेपानीलगायत क्षेत्रमा सबै पुराना घर थिए । निकै आर्कषण थिए । अहिले केही पक्की भवन बनेर बिस्तारै इतिहास मेटिएझैँ भएको छ । ‘घोरेपानीमा त साना-साना छाप्रा थिए । ढिँडो र मकै मात्र पाइन्थ्यो । भुटेका मकै, रोटी खाएर कैयौँपटक हिँडियो । अहिले त पाहुनासँग चकलेट, कफी र ट्रेकिङ पोल छ ।
भरिया भएरै देश देखे
पर्यटकलाई डोर्याउने काम अर्थात् टेर्किङ गाइड बनेर आफूले संसार देखेको उनी बताउँछन् । ‘विभिन्न देशका पर्यटकसँगै हिँड्ने मौका पाए। उनीहरूलाई बुझ्न पाए। सबैभन्दा ठुलो कुरा त मैले मेरो देशलाई हेर्न पाए। यही रमाउन पाएको छु,’ उनले भने । गाउँमा गएर खेतबारी खन्नुभन्दा भारी बोकेरै रमाउन आफूलाई ठिक लागेको उनले सुनाए।
उनी नयाँ पुस्तालाई यस पेसामा जोड्न र अनुभव साट्न सधैँ उत्साहित हुन्छन् । यही कारण सँगै हिँडेकाहरूलाई अनुभव सुनाउँछन् र हँसाइराख्छन् । उनी भन्छन्, ‘यो पेसाबाट कहिल्यै निवृत्त हुन चाहन्नँ। मेरो काम केबल झोला बोकेर पर्यटक डोर्याउनु मात्रै हैन। विदेशीलाई नेपाली मौलिक कला र इतिहास बुझाउनु पनि हो।

Peoplekhabar.com











