नेपाल नेत्रज्योति संघ त्रिपुरेश्वर काठमाडौंको आयोजना र नेत्रज्योति संघ म्याग्दी शाखाको समन्वयमा ट्राफिक प्रहरीलाई चस्मा सहयोग भएको छ । राजमार्ग र सहायक मार्गसहित बजार क्षेत्रमा दैनिक डियुटीमा खटिरहने ट्राफिक प्रहरीहरुमा आँखाको सुरक्षाको लागि चस्मा हस्तान्तरण गरिएको हो ।

नेपालको संखुवासभा जिल्ला घर भई हाल अमेरिकामा बस्दै आउनुभएका नारायण श्रेष्ठ र उहाँकी धर्मपत्नी सिर्जना श्रेष्ठको सहयोगमा नेत्रज्योति संघमार्फत जिल्लामा खटिने ट्राफिक प्रहरीहरुलाई सोमबार एक समारोहबीच चस्मा वितरण गरिएको छ । नेत्रज्योति संघ काठमाडौं र जिल्ला शाखा म्याग्दीको आयोजना तथा समन्वय एवं सहयोगदाता श्रेष्ठ दम्पतिको सहयोगमा ट्राफिक प्रहरीलाई चस्मा हस्तान्तरण गरिएको थियो ।

म्याग्दी जिल्लामा कार्यरत ट्राफिक प्रहरीहरुलाई लक्षित गर्दै तत्कालको लागि २५ पिस चस्मा हस्तान्तरण गरिएको नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीले जनाएको छ । उक्त चस्माहरु नेत्रज्योति संघका केन्द्रीय महासचिव भरतबहादुर चन, म्याग्दी सभापति अमर बानियाँ र सहयोगदाता दम्पतिले जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सीना र जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक विशाल परियारलाई हस्तान्तरण गर्नुभएको थियो ।
https://www.youtube.com/embed/nEaWm1JaQl8
कार्यक्रमको उद्घाटन तथा चस्मा हस्तान्तरण गर्दै केन्द्रीय महासचिव चनले आँखाको क्षेत्रमा काम गर्दै आइरहेको नेत्रज्योति संघ विश्वमा नेटवर्कका हिसाबले पहिलो र सेवाको हिसाबमा दोस्रो स्थानमा रहेको बताउनुभयो । उहाँले राजमार्ग, बजार क्षेत्र र चोकचोकमा खटिरहने ट्राफिक प्रहरीहरुको आँखा र स्वास्थ्यलाई मध्यनजर गरी संघको पहलमा चस्मा सहयोग कार्यक्रम ल्याइएको बताउँदै संघमार्फत आँखाको क्षेत्रमा ९० प्रतिशत काम गरिएको जानकारी दिनुभयो । नेत्रज्योति संघबाट देशभर ३५ लाखको आँखा परीक्षण तथा उपचार एवं ३ लाख जनामा आँखाको शल्यक्रिया सेवा उपलब्ध गराइएको महासचिव चनको भनाइ छ ।

कार्यक्रममा सहयोगदाता नारायण श्रेष्ठले आफू देशभन्दा बाहिर गएर विदेशको बसाई भए पनि नेपालमा स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको बताउनुभयो । उहाँले यसअघि दाँत सम्बन्धी समस्या भएका व्यक्तिहरुको उपचार तथा अन्य भौतिक संरचना निर्माणमा सहयोग गर्दै आइरहेको भन्दै पछिल्लोपटक आँखाको हेरचाह तथा सुरक्षाका लागि चस्मालगायत विभिन्न सहयोगहरु गर्ने गरिएको बताउनुभयो ।

जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले म्याग्दी हिमाली जिल्ला भएकाले नेत्रज्योति संघले जिल्लाको दुरदराजसम्म पुगेर आँखाका समस्या भएकाहरुको उपचार गर्दै आइरहेकोमा प्रशंसा गर्नुभयो । उहाँले म्याग्दीमा नेत्रज्योति संघको आफ्नै भवनको आवश्यकता रहेको औंल्याउँदै अहिले जग्गा मात्रै उपलब्ध भएकाले भवन निर्माणका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल नेत्रज्योति संघ म्याग्दीका सभापति अमर बानियाँले सीमित स्रोतसाधनको बाबजुद पनि जिल्लामा संघमार्फत दुर्गम ठाउँमा पुगेर आँखाको ज्योति गुमाएका मानिसहरुको उपचार गरिएको बताउनुभयो । कार्यक्रम संघका सभापति बानियाँको अध्यक्षता, कोषाध्यक्ष मुक्तिबहादुर खड्काको स्वागत र नेत्रज्योति संघमार्फत सञ्चालित आँखा उपचार केन्द्र बेनीका प्रमुख नेत्र सहायक दिनेश बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।












