---Advertisement---

जेन-जी आन्दोलनपछि श्रम स्वीकृति लिनेको संख्या घट्यो

On: November 6, 2025 11:06 AM
Follow Us:

वैदेशिक रोजगारीका क्रममा बिदेसिनेको संख्या घटेको छ। भदौको तुलनामा असोजमा वैदेशिक रोजगारीमा जानेको संख्या कम भएको हो।

जेन-जी आन्दोलनअघि वैदेशिक रोजगारीमा जानेको संख्या सधैं झैं उकालो लाग्ने गथ्र्यो। तर, भदौमा जति नेपाली युवा श्रम स्वीकृति लिएर बिदेसिएका थिए, त्योभन्दा कम असोजमा बिदेसिएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।

विभागको तथ्यांकअनुसार असोजको तुलनामा गत भदौमा चार हजारभन्दा बढीले श्रम स्वीकृति लिएर बिदेसिएका थिए। गत भदौमा भएको जेनजी आन्दोलनपछि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ।

विभागको तथ्यांकअनुसार भदौमा ६७ हजार नौ सय ७२ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए। असोजमा ६४ हजार ६ सय ३४ जना मात्र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। यो संख्या नयाँ तथा पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका युवाको हो।

विदेशमा काम गर्न जान श्रम स्वीकृति लिनुपर्छ। एकपटक वैदेशिक रोजगारीमा गएर फर्केकाले पनि मुलुकमा अल्झिने उपाय नभेटेपछि पुनः विदेशकै बाटो रोज्ने गरेका छन्।

जेन-जी आन्दोलनपछि संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालीलाई भिसामा कडाइ गरेको छ, जसका कारण प्रमुख श्रम गन्तव्य युएई जानेको संख्या पनि कम देखिएको छ।

भदौमा २५ हजार दुई सय १८ जना युएईमा वैदेशिक रोजगारीका लागि गएका थिए भने असोजमा १८ हजार चार सय ४६ मात्र गएका छन्। भदौको तुलनामा असोजमा ६ हजार सात सय ७२ जनाले कमी आएको छ।

त्यस्तै साउदी अरब जानेको संख्यासमेत घटेको छ। भदौमा १० हजार दुई सय एकजनाले श्रम स्वीकृति लिएर गएका थिए भने असोजमा आठ हजार सात सय ९१ जना मात्र गएका छन्।

त्यस्तै कतार जानेको संख्यासमेत भदौको तुलनामा असोजमा कमी आएको छ, तर मलेसिया, ओमान, कुबेतलगायत देश जानेको संख्या भने बढेको छ।

वैदेशिक रोजगार विभागका सूचना अधिकारी टीकाराम ढकालका अनुसार जेनजी आन्दोलन र नेपालको मुख्य चाडपर्व दसैं भएकाले पनि विदेश जाने नेपालीको संख्या असोजमा कम भएको हुन सक्छ।

विभागको तथ्यांकअनुसार युएई जहिल्यै पहिलो श्रम गन्तव्य मुलुक बन्न पुगेको छ। वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकको संख्या घटे पनि गत आर्थिक वर्षदेखि नै संयुक्त अरब इमिरेट्स (युएई), कतार र साउदी अरब जानेको संख्या बढेसँगै श्रम स्वीकृति लिनेको संख्या बढिरहेको छ, तर जेनजी आन्दोलनपछि श्रम स्वीकृति लिनेको संख्या घटेको उनले स्वीकार गरे।

‘यो जेन-जी आन्दोलन र नेपालीको महान् चाड दसैंका कारणले पनि बिदेसिनेको संख्या भदौको भन्दा असोजमा घटेको हो’, उनले भने, ‘युएईले अझै राम्रोसँग भिसा दिएको छैन। अब विस्तारै भिसा दिन सहज हुन्छ कि ? होइन भने अहिले विदेश जाने सोचबाहेक अरू त्यस्तो केही गरौं भन्ने उद्देश्य नेपालमा नदेखेको धेरै युवा छन्।’ विशेष चाडपर्व सकिएसँगै बिदेसिनेको संख्या पनि बढ्न सक्ने ढकाल बताउँछन्।

वैदेशिक रोजगारीका लागि युएई, कतार र साउदीमा नेपालीको आकर्षण बढेको छ, तर अन्य देशको तुलनामा मलेसियाको रोजगारी भने निरन्तर ओरालो लागेको देखिन्छ। असोजमा सात हजार नौ सय १५ जनाले मात्रै श्रम स्वीकृति गरेको विभागको तथ्यांक छ, तर मलेसियाको यो संख्या भदौको भन्दा बढी हो। असोजको तुलनामा भदौमा झन्डै तीन हजार कमले श्रम स्वीकृति लिएका थिए।

सूचना अधिकारी ढकालका अनुसार अवैधानिक तवरले बिदेसिएका नेपालीको गणना विभागको तथ्यांकमा छैन। ‘सबैभन्दा बढी नेपाली जाने देश युएई हो’, उनले भने, ‘युएईमा श्रम स्वीकृति नलिएका महिला तथा पुरुषको संख्या छैन। झन् भारतमा अवैध काम गरिरहेका नेपालीको संख्या गणना गर्ने हो भने सबैभन्दा बढी छ।’

गत असोजमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या जिल्लागत रूपमा हेर्दा सबैभन्दा धेरै धनुषा र सबैभन्दा कम मनाङ रहेको देखिएको छ।

यस अवधिमा सबैभन्दा धेरै धनुषाका दुई हजार नौ सय ६४ युवाले श्रम स्वीकृति लिएका छन् भने सबैभन्दा कम मनाङका १८ युवाले मात्रै श्रम स्वीकृति लिएको विभागले जनाएको छ।

चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिना (साउन, भदौ र असोज) मा मात्रै दुई लाख सात सय १६ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्।

Leave a Comment