म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा उत्पादन हुँदै आएको मुला स्थानीय पहिचान बन्दै जान थालेको छ । उच्च लेकाली क्षेत्र, हिमालको सम्मुख, चिसो हावापानी, स्थानीय उत्पादन र पर्यटकको रोजाइका कारण स्थानीय जातको मुलाले टोड्केको पहिचान बनाउँदै गएको हो ।
उत्तर–पश्चिम क्षेत्र अन्तर्गत पर्ने पर्यटकीय क्षेत्र टोड्के मुला खेतीका लागि निकै प्रसिद्ध ठाउँको रुपमा रहेको छ । जिल्लाको बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको सङ्गमस्थलमा अवस्थित टोड्केमा परम्परागत रुपमा स्थानीय जातको मुला लगाउने गरिएको छ । पछिल्लो समय टोड्के पर्यटकीय गन्तव्य बन्दै जान थालेपछि मुला खेती पनि आकर्षण बनेको छ ।
धौलागिरि क्षेत्रमा नै मुला खेतीका लागि अब्बल मानिने टोड्केमा यहाँका स्थानीयवासीले स्थानीय जातको सेतो र रातो रङको मुला लगाउँदै आएका छन् । उनीहरुले आफ्ना बाबुबाजेको पालादेखि विभिन्न ठाउँबाट मुलाको बिऊबिजन लिएर लगाउँदै आएको मुला खेतीलाई अहिले पनि निरन्तरता दिएका हुन् । टोड्केमा उत्पादित मुलाले स्थानीय पहिचान बनाउनुका साथै पर्यटकका लागि कोसेली समेत बनेको छ । ५ घरधुरीको बसोबास रहेको टोड्केमा स्थानीय रातो र सेतो जातको मुला उत्पादन हुँदै आएको छ भने टोड्केवासीको मुख्य पेशा मुला तथा आलु खेती हो ।
यहाँका स्थानीयको मुख्य आम्दानीको स्रोत पनि मुला खेती बनेको छ । स्थानीयले मुला, आलु र फापरको साथमा भेडापालन गर्दै आएका छन् । टोड्केकी महिला उद्यमी तीजमाया पाईजाले आफ्ना बाबुबाजेको पालादेखि लगाउँदै आएको मुला खेतीलाई अहिले पनि आफूहरुले निरन्तरता दिएको बताउनुभयो । समुन्द्री सतहदेखि करिब २५ सय मिटरको उचाइमा रहेको टोड्केमा मुलासँगै आलु र फापरको पनि खेती हुन्छ । टोड्केका स्थानीयले परम्परागत मुला खेतीलाई नै निरन्तरता दिएका छन् । मंगला–१, कुहुँको टोड्के र रघुगंगा–५, झीँ टोड्केका स्थानीयले मुला खेती गर्दै आइरहेका छन् । भैंसी र भेडाको मल हालेर उत्पादन गरिने लोकल मुला खोज्दै ग्राहकहरु बारीमै किन्न पुग्छन् ।
स्थानीयले एक सिजनमा उत्पादित मुला बेचेर झण्डै एकलाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । टोड्केमा टोड्के हिल रिसोर्ट प्रालिमार्फत सामुदायिक लज निर्माण गरी सञ्चालनमा ल्याएपछि पछिल्लोपटक टोड्के क्षेत्रमा भ्रमण गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरुले मुला खरिद गरेर लैजाने गरेको उद्यमी पाईजाको भनाइ छ । देशका कतिपय ठाउँमा विषादीको प्रयोगमा मुला, तरकारी, गोलभेँडालगायत कृषि खेतीको उत्पादन भैरहेका समयमा टोड्केका स्थानीयले भने विषादिरहित मुला उत्पादन गर्दै आइरहेका छन् ।
विषादिरहित मुला उत्पादन गर्दै आएका टोड्केका स्थानीयले मुलाबाट धजरा, चाना, सिन्की (गुन्द्रुक) बनाएर बिक्री गर्दै आइरहेका छन् । काँचो मुलालाई भाङ्गोसँग चट्नी बनाएर खाने गरिन्छ भने यो निकै स्वादिलो पनि हुन्छ । टोड्केमा पुग्ने पाहुना तथा पर्यटकहरुलाई स्थानीयवासीले मुलाबाट बनाएको परिकारहरु अचार, मुलाका चाना, धजरा, सिन्कीलगायत उपहार तथा मायाको चिनो कोसेलीको रुपमा उपहार दिने गर्दछन् । टोड्केको भ्रमणमा आउने पर्यटकहरुलाई सामुदायिक लजमा फापर, आलु र मुलासहित अर्गानिक परिकारहरु बनाएर खुवाउने गरिएको टोड्के हिल रिसोर्ट प्रालिका सञ्चालक भीम शेरचनले जानकारी दिनुभयो ।
म्याग्दी सदरमुकाम बेनीदेखि करिब २० किलोमिटर कच्ची सडकबाट पुग्न सकिने टोड्के क्षेत्र पर्यटकीय हिसाबले पनि महत्वपूर्ण गन्तव्यका रुपमा रहेको छ । टोड्केबाट संसारको सातौं अग्लो चुचुरो धौलागिरि हिमालसहित निलगिरी, अन्नपूर्ण, माछापुच्छे«का साथै विभिन्न हिमश्रृङ्खलासहित एकाबिहानैको सुर्योदय, गुराँसे जङ्गल र मनोरम तथा रमणीय दृश्यहरुको अवलोकन गर्न सकिन्छ ।













