म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको खेलकुद सप्ताह शनिवार विद्यालयको प्राङ्गणमा एक समारोहबीच समापन गरिएको हो ।
समापन समारोहलाई सम्बोधन गर्दै जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले विद्यालयले गरेको बृहत् र व्यवस्थित खेलकुद कार्यक्रम अत्यन्त सराह्रनीय भएको बताए । उनले न्यू वेष्ट पोइन्ट विद्यालयले जिल्लाको खेलकुदको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको बताउँदै आगामी दिनमा पनि जिल्ला खेलकुद विकास समितिबाट विद्यालयलाई आवश्यक सहयोग हुने प्रतिबद्धता जनाए ।
विद्यालयको अभिभावक शिक्षक संघकी अध्यक्ष तथा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष विष्णुकुमारी रोकाले खेलकुद केबल मनोरञ्जन मात्र नभई जीवनलाई अनुशासित, स्वस्थ र ऊर्जावान् बनाउने अभ्यास रहेको बताइन् ।
यस वर्षको खेलकुद सप्ताहमा कक्षा ३ देखि १२ सम्मका करिब ७ सय विद्यार्थीले विभिन्न खेलकुद प्रतियोगितामा सहभागिता जनाएका थिएभने चेस, टेबलटेनिस, भलिबल, कराँते, तेक्वान्दो, हाईजम्प, लङजम्प, ट्रिपलजम्प, ज्याभलिन थ्रोलगायत ट्र¥याक तथा फिल्डका खेलहरू समावेश गरिएको थियो । अभिभावकहरूका लागि पनि विशेष खेलकुद प्रतियोगिता गरिएको थियो ।
समापनसत्रमा मन्टेश्वरी र बालविकासका विद्यार्थीहरुले आकर्षक नृत्य र ड्रिल प्रस्तुत गरेका थिएभने तेक्वान्दो र कराँतेको काता प्रदर्शन तथा विद्यार्थीहरूको आकर्षक सांगितिक प्रस्तुतीहरू देखाइएको थियो । कार्यक्रममा खेल शिक्षक दिपेन राई र विद्यार्थीको तर्फबाट कक्षा ११ की छात्रा अनिशा थापाले मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रममा बेनी नगरपालिकाको शिक्षा अधिकृत कमलप्रसाद ढकाल, वडा नं. ७ का वडा सदस्य सोहन श्रेष्ठ, गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी, बेनी सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठ, वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसनका संस्थापक तथा निर्देशकहरूको विशेष उपस्थिति थियो ।
कार्यक्रम वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालिका संस्थापक निर्देशक सुवासकुमार श्रेष्ठको अध्यक्षता, विद्यालयका प्रिन्सिपल डी.बी. दाहालको स्वागत र भाईस प्रिन्सिपल कृष्ण जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।










