---Advertisement---

हिमपातले मुस्ताङका याकचौरी बेँसी झरे

On: November 9, 2025 7:33 AM
Follow Us:

एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै यहाँका उच्च लेकमा पालिएका याकचौरीलाई बेँसीमा स्थानान्तरण गरिएको छ। हिमपातका कारण उच्च लेक क्षेत्रमा घाँसे चरन क्षेत्र हिउँले पूरै ढाकिएको र पानीका मुहान हिउँले जमेपछि यहाँका याकचौरीलाई हिमपात र चिसोबाट जोगाउन बेँसीको न्यानो स्थानमा झारिएको हो।

बर्सेनि मुस्ताङका उच्च लेकमा हिउँद याममा हिउँ पर्न थालेपछि बेँसीमा झारिने र बर्खा याममा हिउँ पग्लिन थालेपछि उच्च लेक तथा खर्कमा पुर्‍याएर याकचौरीको व्यवस्थापन गर्ने गरिन्छ। मुस्ताङका पाँच स्थानीय तहका उच्च लेकमा पालिएका परम्परागत याकचौरी कात्तिकदेखि जेठ महिनासम्म बेँसीमा स्थानान्तरण गरिने गरिएको छ। यसरी हिउँद याममा हिमपात र चिसो छल्न झारिएका याकचौरीलाई गर्मी सुरु भएपछि वैशाखदेखि असोज मसान्तसम्म उच्च लेकमा राखिने गरिएको हिमालयन चौरीपालक तथा संरक्षण समितिका सचिव सोजन हिराचनले बताए।

हिउँद याममा उच्च लेकमा हिउँले चरन क्षेत्र अभाव हुने याकचौरीलाई घाँस, पानी र आहारा व्यवस्थापन गर्न समस्या हुने तथा गोठालालाई पनि हिमपात र चिसोले सास्ती पुर्‍याउने भएकाले उच्च लेक र खर्कका याकचौरी क्रमशः बेँसी झारिने गरिएको हो। यसरी झारिएका याकचौरी बर्खा याममा उच्च लेकका अस्थायी गोठमा लगेर पालन गरिन्छ। बर्खा याममा हिउँ पग्लिएर घाँस पलाउने र गोठालालाई याकचौरी व्यवस्थापन गर्न सहज हुने भएकाले समुद्री सतहको चार हजार मिटरमाथिको उच्च लेकमा याकचौरीपालन गर्ने गरिएको समितिका सचिव हिराचनको भनाइ छ।

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मार्चे लेकका १० घरपरिवारका १० गोठका झण्डै एक हजार याकचौरी हिमपात र जाडो छल्न बेँसी झारिएको समितिका सचिव हिराचनले उल्लेख गरे। त्यसैगरी थासाङस्थित धवलागिरि आइफल रहेको मुलीखर्क लेकका आठ घरपरिवारका करिब पाँच सय याकचौरी र थासाङ–१ र घरपझोङ–२ मा पर्ने बतासे लेकमा रहेका छ घरपरिवारका करिब सात सय याकचौरी हिमपातसँगै जाडो छल्न बेँसी झारिएको समिति सचिव हिराचनको भनाइ छ।

यहाँको थासाङ–२ स्थित मार्चे लेकमा १०, मुलिखर्कमा आठ र बतासे लेकमा छ वटा चौरीगोठ रहेको थासाङ–२ का वडाध्यक्ष गौतम शेरचनले जानकारी दिए। मार्चे लेकमा थासाङ गाउँपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको अनुदान सहयोगमा घुम्ती गोठ निर्माण भएको उनको भनाइ छ। थासाङ गाउँपालिकाअन्तर्गत कोवाङ, सौरु, खन्ती, लार्जुङ, नाउरिकोट, नाकुम, बोक्सी खोला, छाक्ताङ र ताक्लुङका पशुपालकहरूले परम्परागत रूपमा चौरीपालन व्यवसाय अपनाउँदै आइरहेको वडाध्यक्ष शेरचनले उल्लेख गरे।

यहाँको घरपझोङ–४ जोमसोमका याकचौरीपालक भूपेन्द्र शेरचन र वीरबहादुर घर्तीका करिब पाँच सय बढी चौरी हिमपातका कारण ठिनी गाउँमाथिको लेकमा झारिएका छन्। समुद्री सतहको उच्च स्थानमा गोठ खडा गरी पालन गरिएका शेरचन र घर्तीका चौरी नमुख लेकबाट तलको पारिलो स्थानमा झारिएको हो। भूपेन्द्रले हिउँद याममा चौरी रेखदेख गर्न समस्या हुने र उच्च लेकमा घाँस र खानेपानीको समस्या हुने भएकाले बेँसी झार्नुपरेको सुनाए। यहाँको घरपझोङ गाउँपालिकास्थित स्याङ, मार्फा र जोमसोमका गरी सात घरपरिवारले याकचौरीपालन गरेका उनी बताउँछन्।

माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ ताङ्ग्यामा एक र वडा–४ ध्येगाउँमा एक गरी दुई घरले करिब पाँच हाराहारीमा याकचौरीपालन व्यवसाय गरेको ताङ्ग्याका कर्मा साङ्वो गुरुङले जानकारी दिए। बर्खा याममा उच्च लेकको कराङमा रहेका चौरी हिमपातपछि थाक्से लेकको पारिलो स्थानमा राखिएको जानकारी दिए। त्यसैगरी लोघेकर–४ ध्येका चौरीपालक कुन्साङ रिनजीन गुरुङले पनि हिमपातपछि आफ्ना चौरी बेँसी नजिकको लेकमा ल्याएर राखेको बताए।

त्यसैगरी माथिल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिका लोमान्थाङ र सम्जुङमा पनि चौरीपालन गरिएको छ। पछिल्लो समय उच्च हिमाली क्षेत्रमा परम्परागत संस्कृतिका रूपमा व्यावसायिक याकचौरीपालन जलवायु परिवर्तनका कारण संकटमा पर्न थालेको छ। जलवायु परिवर्तनका कारण अनुकूल मौसममा हिउँ नपर्नु, उच्च लेकको चरन क्षेत्रमा घाँस अभाव हुनु र हिम चितुवालगायत वन्यजन्तुको आक्रमणबाट याकचौरीलगायत घरपालुवा पशुचौपायामा क्षति हुँदै जाने जोखिमका कारण यहाँको परम्परागत संस्कृतिका रूपमा रहेको चौरीपालन व्यवसाय संकटमा पर्न थालेको हो।

यहाँका पालन गरिएका चौरी तथा याकनाकपालनलाई जलवायुको संकट थपिएको हो। भारी हिमपात, आंशिक हिमपात र कुनै याममा हिउँ नै नपर्ने प्राकृतिक घटनाका कारण जलवायुको प्रत्यक्ष र परोक्ष असर चौरीपालनमा परेको छ। मुस्ताङका किसानले चौरीको दूधबाट दही, घिउ र छुर्पीलगायतका परिकार निर्माण गर्छन्, चौरीको पुच्छर हिन्दु धर्मावलम्बीहरूले पूजा कोठामा राख्ने भएको यो महँगो मूल्यमा बिक्री हुन्छ।

यहाँको घरपझोङ र थासाङका याकचौरीपालकले बर्सेनि वैशाख र भदौमा याकचौरीको आलो रगत निकालेर दोहोरो फाइदा निकाल्छन्। यहाँ वयस्क याकचौरीलाई मासुका रूपमा समेत उपयोग गरिने भएकाले एउटै जिउँदो याकको मूल्य रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म पर्छ। रासस  
तस्बिर सौजन्य: सन्दीप गुरुङ

Leave a Comment