जिल्लाको अन्नपूर्ण गाउँपालिकाले पशुपालक कृषकलाई उत्पादनमा आधारित अनुदान दिने कार्यक्रम सञ्चालन गरेको छ । मासु र दूध उत्पादन वृद्धि गरी आयात घटाउने र आत्मनिर्भर बनाउने उद्देश्यले पालिकाले कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको हो ।
किसानलाई व्यावसायिक बनाउन र उत्पादन बढाउन नगदसहित प्रोत्साहन गर्ने नीति लिइएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । चालु आर्थिक वर्षका लागि रु. सात लाख ५० हजार बजेट विनियोजन भएको उक्त कार्यक्रममार्फत भेडाबाख्रा र गाईभैँसीपालक किसानले सुविधा पाउनेछन् । भेँडाबाख्राको हकमा कम्तीमा १५ वटा माउ, गाईभैँसीको हकमा कम्तीमा तीन वटा र वार्षिक एक हजार लिटर दूध बिक्री गर्नुपर्ने मापदण्ड रहेको उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष पुनका अनुसार लघुउद्यमीलाई वार्षिक रु १२ हजार, साना उद्यमीलाई रु. १८ हजार, मझौला उद्यमीलाई रु. २५ हजार र व्यावसायिक कृषकलाई रु. ३५ हजारका दरले प्रोत्साहन रकम वितरण गरिने कार्यविधि छ ।
कार्यक्रममा आबद्ध हुन चाहने किसानलाई आगमी मङ्सिर ३ गतेभित्र गाउँपालिका वा वडा कार्यालयमा प्रस्ताव पेस गर्न अनुरोध गरिएको छ । चालु आवमा ३० जना किसानलाई उत्पादनमा आधारित अनुदान वितरण गर्ने गाउँपालिकाको लक्ष्य छ । पहिलोपटक कार्यान्वयन हुन लागेको यो कार्यक्रमको प्रभावकारिता हेरेर आगामी वर्ष थप बजेट व्यवस्थापन गरिने अध्यक्ष पुनले बताउनुभयो ।
यसैगरी, अन्नपूर्ण गाउँपालिकाले यस वर्ष भकारो सुधारका लागि रु. १० लाख, घुम्ती गोठका लागि आवश्यक सामग्री उपलब्ध गराउन रु. तीन लाख र माछामासु तथा डेरी पसल निर्माण तथा सुधारका लागि रु. चार लाख बजेट विनियोजन गरेको छ । रासस









