---Advertisement---

रोकिएको बगरफाँट–भकिम्ली सडक स्तरोन्नतिको काम सुचारु

By ध्रुवसागर शर्मा
On: November 9, 2025 6:53 PM
Follow Us:

गत जेठदेखि रोकिएको म्याग्दीको बेनीदेखि हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली जोड्ने ग्रामिण सडक स्तरोन्नतिको काम पुनः सुचारु भएको छ । वर्षा,गत भदौमा भएको जेन्सी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थिति अनि लगत्तै परेका चाडपर्वका कारण रोकिएको सडक स्तरोन्नतिको काम सुरु भएको हो ।

बगरफाँट क्षेत्रको कोटखोलादेखि दुधेखोला सम्मको सकड स्तरोन्नतिका काम रोकिएपछि नाली र पानीको निकास नहुँदा सडकमा बगेको भल वस्ती र खेततिर सोझिने गरेको थियो । सडकमा अलपत्र अवस्थामा छोडिएका ढुङ्गा,वालुवा लगाएतका निर्माण सामाग्रीहरुका कारण सवारी साधन र पैदल यात्रुलाई समस्या भएकोमा निर्माण कार्य सुचारु भएपछि यो समस्याको अन्त्य हुने आसा गरेको बेनी नगरपालिका वडा नं २ बगरफाँटका नारायण थापाले बताउनुभयो ।

विसं २०६३ मा ट्रयाक खुलेको सात किलोमिटर लामो उक्त सडकको ट्रयाक खुलेको १८ वर्ष पछि दुई वर्ष अघि स्तरोन्नतिको काम थालिएको थियो । अहिले ट्रयाक खुलेको २० वर्ष वितिसक्दा पनि सडक स्तरोन्नति सम्पन्न नहुँदा स्थानीय र यस क्षेत्र हुँदै चल्ने सवारी साधन तथा यात्रीहरुले सास्ती खेप्नु परेको छ ।

सडक स्तरोन्नतिको जिम्मा लिएको माछापुच्छ्रे हिमालयन जेभीले लिएको छ । ठेकेदार कम्पनिका प्रतिनिधि निरज भण्डारीका अनुसार हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको बताउनुभयो । “काम गरेको पैसा पनि निकासा भएको छैन,वर्षा,आन्दोलन र चाडपर्वका कारण काममा ढिलाइ भएको हो । तर,हाम्रो प्रयास ठेक्का अवधी समय भित्र नै काम सम्पन्न गर्ने रहेको छ” निर्माण कम्पनिका ठेकेदार भण्डारीले भन्नुभयो ।

१८ महिनामा निर्माण सम्पन्न गर्नका लागि अघिल्लो वर्षको जेठमा ठेक्का सम्झौता भएको थियो । आउँदो पुसमा ठेक्का अवधी सकिदै छ । बगरफाँट–दूधेखोला खण्डको तीन किलोमिटर सडक ग्राभेल र दूधेखोलाबाट भकिम्लीतर्फको ३९० मिटर सडक ढलान हुनु पर्नेमा काम अझै अधुरो रहेको स्थानीयले बताएका छन् ।

भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले पाँच करोड ५९ लाखको लागतमा सडक निर्माण पूरा गरिने जनाएको छ । जिल्ला पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर रविन चोखालका अनुसार हाँडेभीरबाट बगरफाँटको बुद्ध एकेडेमीसम्म दुई किलोमिटर कालोपत्र भइसकेको छ ।

गण्डकी प्रदेश सरकारले चालु आवमा दुई करोड बजेट यस सडकलाई विनियोजन गरेको र बहुवर्षीय ठेक्का लगाउन १० करोड बजेटको स्रोत सुनिश्चितता भइसकेको गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताउनुभयो ।

यसैगरी सडक बिस्तारको नाउमा बगरफाँटको उर्बराभुमि नष्ट भएकोप्रति स्थानीयले चिन्ता व्यक्त गरेका छन् । सडकको प्रवेश विन्दु मानिएको पाती चढाउने भीरमा मात्र ३ मिटर फराकिलो उक्त सडक बगरफाँटमा सात मिटर र खहरेखोला पारीको क्षेत्रमा ८ मिटरसम्म विस्तार गर्दा स्थानीय गोपाल घिमिरे,डिलबहादुर घिमिरे लगाएतको खेतीयोग्य जमिन नासिएको छ भने शौचालयको सेफ्टीट्यांकी र भान्छाकोठा समेत भत्काएर सडक विस्तार गरिएको प्रति तिब्र आपत्ति रहेको गोपाल घिमिरेले बताउनुभयो ।

पीडित गोपाल घिमिरेले भन्नुभयो “म नेपाल बाहिर भएको समयमा मलाई जानकरी नै नदिई मेरो जग्गा सखाप पारे । सर्वपक्षीय वैठकमा सात मिटर सडक कायम गर्ने सहमति भएकोमा पछि बढाएर आठ मिटर बनाएछन् । सधियार नभयको समयमा रातारात सडक विस्तारका लागि निर्धारण गरिएको संकेत (किल्ला) सारेर स्थानीय टाठाबाठा व्यक्तिले आफ्नो जग्गा बचाएर अरुको सक्काउने काम गरेका छन् ।”

ध्रुवसागर शर्मा

Leave a Comment