गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री रेशमबहादुर जुग्जाली (सुविन)ले आइतबार धवलागिरी गाउँपालिकाले ताकममा आयोजना गरेको अन्तर माध्यमिक विद्यालय, पालिका स्तरीय छैठो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

म्याग्दी १(२)बाट निर्वाचित प्रदेश सरकारका पुर्व मन्त्री र नेपाली कम्युनिष्ट पार्टीका नेता समेत रहेका जुग्जालीले सम्बोधनका क्रममा खेलकुद, समसामयिक राजनीतिक, धवलागिरी गाउँपालिकामा निर्माण शुरु भएको दरवाङ–मुना–ढोरपाटन आयोजना र दाङखोलामा मोटरेबल पुल निर्माण शुरु नहुनुको कारण तथा निर्माणका लागि भएको पहलका विषयमा केन्द्रित हुनुभयो ।
दाङखोला सडक पुल
जुग्जालीले दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको लापरबाही र उदाशिनताका कारण म्याग्दीको दाङखोलामा मोटरेबल पुल निर्माण गर्ने योजना छ वर्षदेखि अलपत्र बनेको विषयमा महत्वका साथ प्रष्ट पार्नुभयो ।
दरवाङ– दाङखोला– धारापानी– ताकम– मुना– लुलाङ– गुर्जा सडक अन्तर्गत मालिका गाउँपालिका वडा नं.–५ र धवलागिरी गाउँपालिका वडा नं.–७ को सिमाना दाङखोलामा मोटरेबल निर्माणका लागि पुर्बाधार बिकास कार्यालय म्याग्दी र इन्द्रेणी–फेवा जे.भी. पोखराबीच बि.स. २०७६ जेठ २२ गते रु. एक करोड ९३ लाख २९ हजार चार सय ५७ मा ठेक्का सम्झौता भएको थियो ।
वि.स. २०७७ जेठ २० गते सम्पन्न गर्ने लक्ष्य राखिएको १८ मिटर लामो मोटरेबल निर्माण कार्य सुरु गर्ने तयारी भएको अवस्थामा दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको बाँधको डुवान क्षेत्र पर्ने हुँदा प्रस्ताव गरिएको भन्दा दुई सय मिटर माथी पुल बनाउन प्रदेश सरकारलाई आग्रह गर्ने र सरकारी निकायबाट पुल नबनेको अवस्थामा आयोजनालेनै पुल बनाउने सहमति भएको थियो ।
वि.स. २०७६ असोज ५ गते धवलागिरि, मालिका गाउँपालिकाका जनप्रतिनिधी, आयोजना र पूर्वाधार विकास कार्यालय तथा स्थानीयबासीहरुको उपस्थितिमा भएको बैठकको तेस्रो नम्बर निर्णको बुदामा सरकारी पक्षबाट पुल निर्माण नभएमा दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाले बनाउने उल्लेख छ । उक्त निर्णयमा दरवाङ म्याग्दीखोलाको प्रर्वद्धक धौलागिरी कालिका हाइड्रोका तत्कालीन निर्देशक हर्कमान मगरले हस्ताक्षर गर्नुभएको थियो ।
जलविद्युुत आयोजनाले समयमा काम गर्न नदिएको लगायतका कारण देखाएर निर्माण ब्यवसायी अदालत जाँदा पुल निर्माण शुरु हुन नसकेकाले आयोजनाले सहमति अनुसार पुल निर्माणको वातावरण बनाउन धवलागिरीका जनप्रतिनिधी र राजनीतिक दलको सर्वपक्षीय बैठक बसेर दवाव दिएको जानकारी दिनुभयो । आयोजनाले बेवस्ता गरेमा आन्दोलनको नेतृत्व गर्ने र त्यसमा साथ दिन जुग्जालीले अपिल गर्नुभयो ।
दरवाङ–मुना–ढोरपाटन सडक
गण्डकी प्रदेश र संघीय सरकारको ५०÷५० प्रतिशत लागत साझेदारीमा निर्माण सुरु भएको मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि धवलागिरी गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन र प्रदेश सरकारले बजेटमा निर्माण भइरहेको धारापानी–ताकम–शिवाङ–झिनडाडा खण्डको स्तरोन्नति योजनामा आफ्नो भूमिकाको जुग्जालीले स्वामित्व लिनुभयो ।
“मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–मुना– ढोरपाटन सडक स्तरोन्नतिका लागि मैले मन्त्रालयको नेतृत्व सम्हालेको समयमा रु. ९२ करोड ९२ लाखको स्रोत सुनिश्चितता भएको थियो,” उहाँले भन्नुभयो “योजना मार्फत दरवाङ–धारापानी (सात किलोमिटर) र मच्छिम–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रबिधिको कालोपत्र र ढलान हुुनेछ् ।”
म्याग्दीको मंगला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ७० किलोमिटर छोटो पर्ने भएकाले जुग्जालीले गण्डकी प्रदेशको पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नेतृत्व गरेको समयमा वि.स. २०८० माघमा यो सडकलाई संघीय समपूरक योजनामा समावेश गराउने निर्णय गराउनुभएको थियो ।
धवलागिरि गाउँपालिका–७ धारापानीबाट ताकम हुँदै झिनडाँडा खण्डको चार किलोमिटर दूरीको सडक कालोपत्र, ढलान र ग्राभेलका लागि आर्थिक वर्ष २०८०÷०८१ मा रु १४ करोड ६१ लाख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनी रामसागर–बिएस धवलागिरि जेभीले करिब ६० प्रतिशत भौतिक प्रगति गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
दुई वटै योजना भित्र्याउन सहयोग गर्ने वडा, गाउँपालिका, प्रदेश देखि संघीय जनप्रतिनिधी तथा निकायलाई धन्यवाद् दिदै तोकिएको गुणस्तर र मापदण्ड अनुसार निर्धारित समयमै सम्पन्न गराउन निगरानी, समन्वय र सहजिकरण गर्न अपिल गर्नुभयो ।
जेनजी आन्दोलन र निर्वाचन
जुग्जालीले भदौ २३ गतेको जेनजी आन्दोलन र २४ गतेको विध्वशं, त्यसपछि उत्पन्न राजनीतिक परिस्थिति र अवको निकासका विषयमा पनि आफ्नो धारणा राख्नुभयो ।
एमालेका अध्यक्ष केपी ओली नेतृत्वको तत्कालीन सरकारको दम्ब, घमण्ड, अपारदर्शी गतिबिधी, सेवाप्रवाह तथा विकास निर्माणमा भएको ढिलासुस्ति, सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध, भ्रष्ट्राचारीहरुको संरक्षण जस्ता गतिबिधिबाट सहरका युवापुस्ताले २३ गते आन्दोलन गरेको र त्यसमा सरकारले चरम दमन गरेको उहाँले बताउनुभयो ।
भदौ २४ गते जेनजी आन्दोलनमा घुसपेठ हुँदा सरकारी सम्पदा, इतिहाँस र इतिहाँस ध्वम भएकोमा दुख व्यक्त गर्दै वैदेशिक हस्तक्षेपका कारण जेनजी आन्दोलन हाइज्याक भएको उहाँको धारणा थियो । नेपालको राजनीतिलाई सही बाटोमा ल्याउन फागुन २१ गते घोषणा भएको निर्वाचन सफल बनाउन र नयाँ संसद मार्फत जेनजी आन्दोलनका मुद्दाको सम्बोधन गर्नुपर्ने बताउनुभयो । केही कर्मचारी र नेताका गतिबिधीका कारण समाजमा निराशा छाएको, विगतको तुलनामा अपेक्षाकृत परिवर्तन नभएपनि हुदै नभएको भन्ने भाष्य सहि नभएको दावी गर्नुभयो ।
खेल मार्फत एकताको सन्देश
खेलले विभाजनलाई हटाएर एकताको सन्देश दिने नेपालले भाग लिने राष्ट्रिय अन्तराष्ट्रिय प्रतियोगिताहरुको उदाहरण सहित प्रष्टाउनुभयो । खेलकुदको कुनै जात, धर्म र राजनीति नहुने भएकाले यसबाट एकापसमा सहकार्य र एकताको भावना विकास हुने बताउनुभयो ।
उहाँले खेलकुद प्रतियोगितामा सहभागी विद्यार्थीहरु भर्खरै उम्रँदै गरेको विरुवा भएकाले अनुशासित र सक्रियतापूर्वक खेल प्रदर्शन गर्नुपर्ने बताउँदै स्थानीय तह, जिल्ला, प्रदेश हुँदै राष्ट्रलाई चिनाउनको लागि अहिलदेखि नै उत्कृष्ट खेल प्रदर्शनलाई जोड दिनुपर्ने बताउनुभयो ।
अरुणा शाही, कमला पुन, तारादेवी गर्बुजा लगायतले खेलको माध्यमबाट म्याग्दीलाई चिनाएको बताउँदै यस्ता प्रतियोगिताहरुले खेलप्रतिभाको पहिचान र विकासमा योगदान पुग्ने बताउनुभयो । चाडपर्वको अवसरमा १०–१५ दिनसम्म मेलाजात्रा र खेलकुद प्रतियोगिता सञ्चालन गर्ने चलन हटाएर व्यवस्थित रुपमा दुई÷तीन दिनमै सक्ने वातावरण बनाउन युवा क्लवहरुलाई धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले गर्नुभएको अनुरोधप्रति कार्यक्रमका प्रमुख अतिथि जुग्जालीले सर्मथन जनाउनुभयो ।









