---Advertisement---

रेश्मा विकलाई क्याम्पस पढ्न इशा फाउण्डेशनको सहयोग

On: November 11, 2025 9:28 PM
Follow Us:

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५,उपल्लो स्वारा शिखकी रेश्मा विकलाई अमेरिकामा बस्ने एक दम्पत्तीले स्नातक तहका लागि आवासीय सहित शैक्षिक अभिभावकत्व ग्रहण गर्नुभएको छ । बेनी नगरपालिका–४,बास्कुनाका सामाजिक संस्था इशा फाउण्डेशनका संस्थापक ईन्द्रबहादुर थापा र सबी थापाले पढाइमा अब्बल बिकलाई म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक तहको ४ बर्षसम्म पढ्नका लागि वार्षिक ४० हजार नगद सहयोग गर्नुभएको हो ।

म्याग्दी बहुमुखी क्याम्पस पूर्व विद्यार्थी संघको आयोजनामा इशा फाउण्डेशनकी म्याग्दीकी प्रतिनिधि चन्द्रा घलेले उक्त सहयोग हस्तान्तरण गर्नुभएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि क्याम्पस प्रमुख श्रीधर सुबेदीले शैक्षिकसँगै अतिरिक्त क्रियाकलापमा समेत अब्बल विद्यार्थीलाई गरिएको सहयोगले स्नातकतहसम्म आवासीय, स्टेशनरी, शैक्षिक शुल्क सहित अन्य खर्चमा सहयोग पुग्ने बताउनुभयो ।‘क्याम्पसले पनि विभिन्न शिर्षकमा क्षमताको आधारमा छात्रबृत्ति उपलब्ध गराउँछ,सबैको हातेमालोले विद्यार्थीलाई अगाडी बढ्न सहज हुन्छ’ क्याम्पस प्रमुख सुबेदीले भन्नुभयो ।

क्याम्पस प्रमुख सुबेदीले क्याम्पसले शैक्षिकसँगै उद्यशमहिलता तालिमार्फत समेत विद्यार्थीलाई स्वरोजगार बनाउन सहयोग गरेको बताउनुभयो ।सोही अवसरमा विद्यार्थी विकले गाउँमा कक्षा १२ को पढाइ सकेपछि थप शिक्षाका लागि अलमलमा परेको अवस्थामा म्याग्दी बहुमुखी क्याम्पसमा आएर पढ्ने वातावरण बनाउनुभएकोमा सहयोगदातालाई धन्यवाद दिदैं आफ्नो लागि गरिएको लगानी खेर जान नदिने प्रतिबद्धता जनाउनुभयो । ‘प्राप्त सहयोगलाई शैक्षिक क्षेत्रमै खर्च गर्नेछु, मेरो लक्ष्य एक सफल शिक्षक बन्ने छ’ विद्यार्थी विकले भन्नुभयो ।


म्याग्दी बहुमुखी क्याम्पस पूर्व विद्यार्थी संघका अध्यक्ष अर्जुन पौडेलले क्याम्पसमा अध्ययनरत विद्यार्थीको समस्या समाधानमा आवश्यक पहल गर्ने बताउनुभयो । संघका अध्यक्ष पौडेलको अध्यक्षता, सदस्य हरिकृष्ण गौतमको स्वागत तथा सहसचिव शैलेश श्रेष्ठले सञ्चालन गर्नुभएको थियो । इशा फाउण्डेशनले म्याग्दीमा विक सहित ३ जना सहित देशका विभिन्न जिल्लामा ७ जना गरी १० विद्यार्थीको उच्च शिक्षाका लागि आवासीय खर्च सहितको सहयोग गरेको छ ।

फाउण्डेशनले आर्थिक अभावका कारण उपचारमा बन्चित सहित प्राकृतिक विपत्ती लगायतका क्षेत्रमा समेत बर्षेनी सहयोग गर्ने गरेको म्याग्दी प्रतिनिधि चन्द्रा घलेले बताउनुभयो । लगनशील, मिहनेती तथा अनुशासित विद्यार्थीले आर्थिक अभावकै कारण आधारभुत तहदेखि उच्च शिक्षासम्मको पढाईबाट बन्चित भएका विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखेर सहयोग गर्ने इशा फाउण्डेशनले जनाएको छ ।

Leave a Comment