महिलाहरुको आफ्नै व्यवस्थापनमा म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड म्याग्दीले मानवसेवा आश्रम बागलुङको भवन निर्माणार्थ सञ्चालित श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञलाई मुठ्ठीदान अभियानमार्फत ५५ हजार ५५५ सहयोग गरेको छ । वित्तिय कारोबारसँगै सेयर सदस्यबाट संकलन गरिएको सहयोगमार्फत मानवीय तथा सामाजिक कार्यमा समेत खर्चिने गरेको सहकारीले महायज्ञको पाँचौँ दिन अध्यक्ष सुगम श्रेष्ठको नेतृत्वमा गएर उक्त सहयोग गरेको हो ।
सहकारीकी अध्यक्ष श्रेष्ठले सडकआश्रीत मानवको संरक्षणमा आश्रमले खेलेको भूमिकाको उच्च प्रशंसा गदैं सहयोग गरिएको बताउनुभयो । बि.स २०७० साल माघ २५ गतेबाट मुठीदान अभियान सञ्चालन गरेको सहकारीले यसअगाडी विपन्न, हिंंसामा परेका महिलाका साथै विभिन्न क्षेत्रमा सहयोग गरेको छ । महायज्ञमा मङ्गलबार एक करोड एक लाख ९६ हजार रुपियाँ दान सङ्कलन गरिएको छ । महायज्ञमा दाताहरूले न्यूनतम रकम पाँच हजारदेखि पाँच लाखसम्म दान गरेका छन् ।
सडकआश्रित, असहाय, अपाङ्ग, मानसिक रोगी तथा बेघर मानवको पुनस्र्थापनाका लागि निर्माणाधीन आश्रमको भवनमा सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको यस महायज्ञमा दाताहरूको उल्लेखनीय सहभागिता रहँदै आएको छ ।

महायज्ञबाट प्राप्त रकम मानवसेवा आश्रम बागलुङको भवन निर्माणमा लगाईने र १० करोड रुपियाँ बराबरको अक्षयकोष निर्माण गर्ने लक्ष्य लिइएको मानवसेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । निर्माणाधिन भवनमा हालसम्म करिब पाँच करोड रुपियाँ खर्च भइसकेको र कार्य सम्पन्न गर्नका लागि अझै चार करोड रुपियाँको आवश्यकता रहेको छ ।
निर्माणाधीन भवनको करिब ६० प्रतिशत काम सकिएको र बाँकी ४० प्रतिशत कार्य चैत मसान्तसम्म पूरा गर्ने लक्ष्य रहेको आश्रमले जनाएको छ । भवन निर्माण सम्पन्न भएपछि सो शाखाबाट करिब दुई सय जनालाई आश्रय प्रदान गर्न सकिने जनाइएको छ ।विसं २०७३ देखि बागलुङको शाखा स्थापना गरेर सेवा दिँदै आएको आश्रमले बागलुङ नगरपालिका–४ निरयघाटमा जग्गा प्राप्त गरेपछि विसं २०७८ वैशाख २४ गतेदेखि ५ रोपनी क्षेत्रफलमा सुविधा सम्पन्न भवन निर्माण भइरहेको छ । महायज्ञ कात्तिक २८ गतेसम्म सञ्चालन हुनेछ ।









