---Advertisement---

कागतीका बोट मर्न थालेपछि किसान चिन्तित

On: November 13, 2025 11:22 AM
Follow Us:

जरा कुहिने रोग फैलिन थालेपछि बागलुङका किसानहरू कागतीका बोट मर्न थालेको देखेर चिन्तित भएका छन् । तीन वर्षअघिदेखि सुरु भएको समस्या अहिले बढ्दै गएर सयौँ किसानका हजारौँ बोट सुक्न थालेका छन् । यस कारण लाखौँ रुपैयाँ बराबरको क्षति पुगेको किसानको गुनासो छ । सुरुमा बोटका पात पहेँला हुने, हाँगा सुक्ने र करिब एक महिनामै बोट मर्ने समस्या देखिएको छ ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष अधिकारीका अनुसार किसानका उजुरीपछि टोली बारीमै पुगेर अध्ययन गर्दा जरा सुक्ने रोग (Root Rot Disease) नै मुख्य कारण भएको पुष्टि भएको हो । अधिकारीले भने, “फल लागेको बोटमा अहिले उपचार गर्न मिल्दैन, फल टिपेपछि जराको वरिपरि माटो खनेर उपचार गर्नुपर्छ । फल नदिएका बोट भने उपचारयोग्य छन् ।”

उहाँका अनुसार यो रोगले जिल्लाका विभिन्न स्थानमा रहेका कागतीखेतीमा ठूलो असर पुर्‍याएको छ । “कागती सुक्ने समस्या धेरै ठाउँमा देखिएको छ, यसका समाधानका उपाय छन्, तर किसानले समयमै जानकारी दिनुपर्छ,” अधिकारीले बताउनुभयो ।

निसीखोला गाउँपालिका–४ का किसान चक्रबहादुर रोका का अनुसार बारीका अधिकांश बोट मर्न थालेका छन् । “अघिल्लो वर्ष लगाएका बिरुवासमेत मर्न थालेका छन्, टिप्ने बेलामा फल खस्छन् र बोट सुक्छ,” उनले भने । व्यावसायिक रूपमा कागतीखेती सुरु गरेका रोकालाई अहिले लाखौँको क्षति हुने चिन्ता छ ।

त्यसैगरी स्थानीय तमबहादुर खत्रीले पनि १२० बोटमध्ये ९० भन्दा बढीमा रोग लागेको बताए । उनले सुक्न थालेका बोटका हाँगा काट्न थालेका छन् । “अघिल्लो वर्ष पनि धुलोको असरले धेरै बोट मरेका थिए, अहिले रोगले थप क्षति पुर्‍याएको छ,” उनले भने ।

गाउँका अधिकांश किसानको बगानमा यस्तै समस्या देखिएको छ । कृषि ज्ञान केन्द्रका अनुसार हाल बागलुङ जिल्लामा ७९७ हेक्टर क्षेत्रफलमा कागतीजन्य फलफूलखेती भइरहेको छ । पछिल्ला वर्षहरूमा कागतीखेतीतर्फ किसानको आकर्षण बढ्दो क्रममा रहे पनि रोग फैलिँदै जाँदा त्यसले किसानको उत्साह घटाएको छ ।

Leave a Comment