---Advertisement---

यसपटक रितिकाले खेल र मन दुबै जितिन्

By हरिकृष्ण गौतम
On: November 13, 2025 7:20 PM
Follow Us:

बेनी नगरपालिमा विद्यालयस्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा १५ सय दौडमा ९ बर्षिया रितिका घतानेले यसपटक काँस्य पदकसँगै दर्शकको मन समेत जितेका छन् । पाँचौ राष्ट्रपति रनिङ शिल्डमा १५ सय मिटरमा १३ नम्बर जर्सीमा केही सेकेन्डले काँस्य पदक जित्नबाट बन्चित भएकी रितिकाले यसपटक उद्घाटन खेलबाटै बेनपा–१० पात्लेखेत स्थित दिपक माविलाई पदक दिलाएकी छन् ।


दौड सकिएलगत्तै मैदानमा कुनै शाररीक थकानको महसुस नभएर फुर्तिलो देखिएकी रितिकालाई विद्यालयले ८ सय मिटर दौडमा पनि सहभागि बनाएको छ । पाँचौ राष्ट्रपतिमा ८ सय मिटरमा रितिकाले काँस्य पदक जितेकाले यसपटक स्वर्ण पदक दिलाउनेमा विद्यालय आसाबादी छ ।

प्रतियोगितामा लामो दुरी तथा सदरमुकाम बेनीमा नियमित अभ्यास गरेका विद्यार्थीसँग प्रतिस्पर्धा गरेकी रितिका कलिलै उमेर भएकाले दुईवटा दौडमा मात्रै सहभागि गराएको विद्यालयका प्रधानध्यापक बिष्णु ढुंगानाले बताए। ‘विद्यालयमा एकसाता सामान्य अभ्यास गरिएको थियो, उनलाई प्राविधिक ज्ञान दिलाउने वातावरण भएमा एथलेटिक्समा अझै राम्रो गर्न सक्छिन्’ प्रअ ढुंगानाले भने ।

पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा १५ सय दौडमा सहभागि रितिका

विना अभ्यास नै नतिजा निकाल्न सक्ने रितिकाले अन्य विधामा पनि सहभागिता हुने इच्छा ब्यक्त गरेपनि उमेरका कारण सहभागि गराउन नसकिएको प्रअ ढुंगानाको भनाई छ ।

‘एथलेटिक्सका सबै खेलमा नाम राख्न अनुरोध गरेकी थिइन्, खेलमा शाररीक र मानसिक तनाव हुन्छ भनेर हामीले सहभागि गराउन सकेनौ’ प्रअ ढुंगानाले भने । घरको आर्थिक अवस्था सामान्य रहेको रितिकाले राम्रो तालिम चाहिएको बताइन् ।

यता जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले जिल्लाभरबाट विभिन्न विधामा छनौट भएका खेलाडीलाई साधनस्रोत ब्यवस्थापन गरेर भएपनि प्राविधिक ज्ञान तथा अवसरका लागि तयार रहेको बताए । ‘उदयमान प्रतिभाको पहिचानसँगै अवसरका लागि निरन्तर सक्रिय छौ, कलिला उमेरका खेलाडीले देखाएको खेलबाट झनै जिम्मेबारीबोध भएको छ’ अध्यक्ष श्रेष्ठले भने ।

प्रतियोगितामा पदक जितेकी रितिका सहित अन्य खेलाडीलाई जिल्ला समन्वय समितिकी कार्यबाहक प्रमुख दिलकुमारी खत्री, बेनी नगरपालिकाका मेयर सुरत केसी, उपमेयर ज्योति लामिछाने सहित जनप्रतिनिधिको टोलीले मैदानमै पुगेर बधाई दिएका थिए । नगरपालिका भित्रका विभिन्न २७ वटा विद्यालयहरुले सहभागिता जनाएका छन् । जसमा सामुदायिक विद्यालयतर्फ २० र संस्थागततर्फ ७ वटा विद्यालयको सहभागिता रहेको छ ।


एथ्लेटिक्स, भलिबल, मार्सलआर्ट र कबड्डीसहित चारवटा विद्यामा कुल ६६ स्वर्णपदकका लागि विद्यालयहरुको बीचमा प्रतिसर््पर्धा सुरु भएको छ । एथ्लेटिक्स विधातर्फ १ सय, २ सय, ४ सय, ८ सय, १५ सय, ३ हजार मिटर दूरीको दौड तथा चारचार जनाको बीचमा १ सय र ४ सय मिटरको रिलेदौड प्रतियोगिता आयोजना गरिएको छ । यसैगरी हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट तथा छात्रछात्राको भलिबल प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

हरिकृष्ण गौतम

Leave a Comment