---Advertisement---

अस्ताए कुहुँका उज्याला नक्षेत्र क्या.केशरबहादुर घर्ती

By ध्रुवसागर शर्मा
On: November 14, 2025 9:52 PM
Follow Us:


ध्रुवसागर शर्मा
हुन त मान्छे जन्मने नै मर्नका लागि हो । तर,मर्नकै लागि मात्र पनि जन्मेको हुँदैन मान्छे । वाँचुञ्जेलसम्म उसले गरेका कर्महरुका आधारमा ऊ अमर पनि बन्न सक्छ र उदाहरणीय पनि । उसले गरेका काम र दिएका योगदानका आधारमा समाजले र राष्ट्रले उसलाई सम्झने वा विर्सने गर्दछ ।


म्याग्दीको पश्चिमी भेगमा अवस्थित मंगला गाउँपालिका वडा नं १ मा पर्ने कुहुँ गाउँ केवल गाउँ मात्र नभएर पराक्रम,पौरख र इतिहासको त्रिवेणी धाम हो भन्दा कुनै अत्युक्ति हुँदैन । सोझा,सरल र पौरखी व्यक्तिहरुको वसोवास रहेको यो गाउँलाई शिक्षा र चेतनाको उज्यालो भरिदिने काम भने क्या.केशरबहादुर घर्तीक्षेत्रीले गर्नुभएको थियो ।


भारतीय सेनाबाट सन् १९९९ मा सेवा निवृत भएर गाउँको विकासमा जुट्नुभएका क्या. घर्तीको निधनले गाउँको उज्यालो हराएको स्थानीयले बताएका छन् । स्व. केशरबहादुर जिसीको देहावसान २०८२ कार्तिक १९ गते राती आफ्नै घरमा भएको हो ।७२ वर्षिय जिसीको निधनले गाउँ नै शोकाकुल भएको छ ।


विसं २०११ साल बैशाख २५ गते जन्मनुभएका जिसीले आफ्नो बाल्यकाल जन्मथलो कुहुँमा नै विताउनुभएको थियो । जिसीले सेवानिवृत भई मातृभूमि फर्किएपछि जन्मथलोको सामाजिक सेवामा तल्लीन रहने सङ्कल्प गर्नुभएको म्याग्दीका साहित्यकार अजयमिलन श्रेष्ठले उल्लेख गर्नुभएको छ ।

उहाँका अनुसार विसं २०५७ सालमा दीपशिखा मावि, कुहुँको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेर विद्यालयको पक्की भवन निर्माणको कार्य प्रारम्भ र सम्पन्न गर्ने जिम्मेवारी पूरा गर्नुभयो । सो अवधिमा कर्णेल नारायणसिंह पुन र अमेरिकन नागरिक मि. बवि शेखरसँगको सहकार्यमा १२ लाख रूपैयाँ सहयोग प्राप्त गरी १० कोठे पक्की भवन निर्माण गर्नुभएको जनाइएको छ ।


भवनका साथै ट्वाइलेट, बाथरुम समेत निर्माण गर्दा दातृ निकायबाट १२ लाख २ हजार ८८ रूपैयाँ, तत्कालीन गाविसबाट ४ लाख रूपैयाँ र वैदेशिक रोजगारीमा रहेका युवाद्वारा सहयोग सङ्कलन गरिएको ३ लाख एवम् स्थानीय जनश्रमदान र चन्दा सहयोग जुटाई २०५८ कार्तिकमा निर्माण कार्य सम्पन्न भएको उहाँका जुवाइँ शिव वानियाँले जानकारी दिनुभयो ।

विद्यालयलाई निरन्तर रुपमा आर्थिक एवम् भौतिक सहयोग गर्दै आएका क्या. जिसीले उक्त विद्यालयबाट सम्मिलित भई एसएलसीमा उत्कृष्ट अङ्क हासिल गर्दै उत्तीर्ण हुने विद्यार्थीहरूलाई व्यक्तिगत रुपमा नगद पुरस्कार दिएर प्रोत्साहित गर्ने गर्नुभएको थियो ।स्व.जिसी वि. सं. २०२८ मा १७ वर्षको उमेरमा भारतीय सेनामा भर्ती हुनुभएको थियो । सन् १९७१ मा भारत र पाकिस्तान बीच भएको लडाइमा उहाँ प्रत्यक्ष संलग्न हुनुहुन्थ्यो ।


क्या. केशरबहादुर जिसी नेपाली कांग्रेसका सक्रिय सदस्य हुनुहुन्थ्यो । पार्टीका एक इमानदार र बफादार कार्यकर्ता उहाँ प्रतिकूल परिस्थितिमा पनि स्थानीय नेतृत्व तहमा रहेर भूमिका निर्वाह गरेका कर्तव्यनिष्ठ समर्थक हुनुहुन्छ । द्वन्द्वकालको भयभीत समयमा उहाँलाई विद्रोही पक्षबाट धम्की र प्रताडना दिइन्थ्यो । यस शिलशिलामा व्याप्त चन्दा आतङ्कका शिकार पनि हुनुभएको थियो । बाध्यात्मक रुपले उहाँबाट पनि चन्दा लगिएको थियो । यस जटिल परिस्थितिमा पनि उहाँले धैर्यता र निष्ठा गुमाउनुभएन । तसर्थ उहाँ अविचलित लोकतन्त्रवादी हुनुहुन्छ ।


वन तथा वातावरण संरक्षणको क्षेत्रमा पनि स्व. जिसीको महत्वपूर्ण योगदान रहेको स्थानीय वुद्धिजीवि भद्रबहादुर जिसीले बताउनुभयो। उहाँले जिल्ला भूसंरक्षण कार्यालय, जिल्ला वन कार्यालय र स्थानीय गाउँ विकास समितिसँग समन्वय गरेर भूक्षय रोकथाम र नियन्त्रणमा उल्लेखनीय कार्य गर्नुभएको छ । आफू स्वयम् अग्रसर भई विभिन्न जातका विरूवा उत्पादन गरी गाविस क्षेत्रभरि नै विरूवा वितरण गर्ने काम गरेर उहाँले आफूलाई भूक्षय रोकथामका क्षेत्रमा चिन्तनशील व्यक्तिका रुपमा चिनाउनुभएको स्थानीय बताउछन् ।

क्याप्टेन केशरबहादुर जिसी कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न चाहने अगुवा कृषक तथा सामाजिक कार्यको अगुवाइ गर्ने नेतृत्वकर्ता समेत हुनुहुन्थ्यो । उहाँले गाउँमा पहिलो पटक करेसाबारीको अवधारणा ल्याउँदै कुहुँका कृषकहरूलाई तरकारी खेतीका लागि प्रोत्साहित गर्नुभएको बताइन्छ ।


जिसीले कुहुँ गाउँमा खानेपानी ल्याउन ठूलो संघर्ष गर्नुभएको थियो । वि. सं. २०६८ मा उनी भीरकटेरा खानेपानी निर्माण उपभोक्ता समितिको अध्यक्ष बन्नुभयो । त्यति ठूलो गाउँ बस्तीमा एउटा मात्रै धारा भएका कारण स्थानीयले भोग्नुपरेको दुःख, पानीको पाइपलाइन सानो भएकोले बेलाबेलामा जाम भएर मर्मत सम्भार कार्यमा पटकपटक झेल्नुपरेको समस्याले ग्रष्त कुहुँलाई छताछुल्ल पानीको अवस्थामा ल्याउने पवित्र र महान कार्यको नायक उहाँ नै भएको साहित्कार तथा राजनीतिज्ञ अजयमिलन श्रेष्ठले उल्लेख गर्नुभएको छ।

उहाँका अनुसार युनिसेफ, पश्चिम नेपाल ग्रामीण खानेपानी संस्था, स्थानीय निकाय लगायतको सहयोगमा सम्पन्न खानेपानी योजना अन्तर्गत बस्नेरा र भीरकटेरा दुवै मुहानको पानीलाई एकीकृत गरी एउटै ट्याङ्कीमा सङ्कलन गरेर वितरणको प्रबन्ध गरियो । हाल १०० भन्दा बढी घरधुरी लाभान्वित उक्त योजना अन्तर्गत कम्तीमा ३ देखि बढीमा ८ घरपरिवार बीच पर्ने गरी ४६ वटा धाराबाट पानीको आपूर्ति भइरहेको छ।


कुहुँका कुनाकुनामा उज्यालो छाएको देख्न चाहने क्या. जिसीले अँधेरीखोलादेखि सीमसम्मको बाटो निर्माणमा आर्थिक सहयोग गर्नुका अतिरिक्त विभिन्न बाटोघाटो, चौतारीपोखरी, मठमन्दिरलगायत विभिन्न महायज्ञमा आर्थिक तथा भौतिक सहयोग गर्दै आउनुभएको थियो ।


क्या. जिसी स्व. दलबहादुर घर्ती क्षेत्री र स्व. कौशिला घर्ती क्षेत्रीका चार जना सन्तती मध्ये कान्छा छोरा हुनुहुन्थ्यो । उहाँको विवाह साविक कुहुँ गाउँ विकास समिति, वडा नं.– ३ (हालको मङ्गला गाउँपालिका, वडा नं.– १) कुहुँ निवासी पुरनचन्द्र र डम्मरकुमारी खत्रीका छोरी धनसरासँग वि. सं. २०३६ मा भएको थियो । स्व. जिसीका दुई छोरी र तीन छोरा छन् ।


सागरमा मलामीहरूको भिंडले टेक्ने ठाउँ नहुने गरी भएको उपस्थिति र घरमा भेट्न आउनेहरूको लावालस्कर अनि उनीहरूको आँखाबाट निस्किएको अश्रुधाराले देखाउँछ कि कसैके मृत्यु होस् त क्याप्टेन घर्तीको जस्तो ।

ध्रुवसागर शर्मा

Leave a Comment